नक्कली सुन प्रकरण: ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन


 


काठमाडौँ, साउन १७
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको बा६च ५५१९ नम्बरको स्कार्पियो कमलपोखरीबाट कमलादीतर्फ आउँदै छ ।’ फोन दरबारमार्ग वृत्तकै घुमुवा प्रहरी प्रसन्न श्रेष्ठले गरेका थिए । फोन गरेर प्रसन्न गाडीको पछि दगुरे । प्रसन्नकै साथमा अर्का घुमुवा प्रहरी बहादुरसिंह कठायत थिए । उनीहरूसँग भारत गुजरातका कौशल पटेल थिए । कौशलले गाडीमा रहेका एक व्यक्तिलाई फोन गरेर प्रहरीले पिछा गरेको सूचना दिँदै ‘सामान दिएर भाग्नू’ भने ।

उता डीएसपी दाहालले कमलपोखरीबाट प्रज्ञा प्रतिष्ठान र दरबारमार्ग (महेन्द्र सालिक) तर्फ जाने बाटो घेरा हाल्न लगाए । सवारी हुलियाको खोजी गरियो । प्रसन्न गाडी पछ्याउँदै सुन्धारा पुगिसकेका थिए । कौशल सम्पर्कमै थिए । स्कार्पियो सहिदगेटबाट त्रिपुरेश्वर जाने बाटोतर्फ रोकियो । गाडीमा चालकसहित ३ जना रहेकामा एक व्यक्ति झोला बोकेर ओर्लिए । त्यो झोला प्रसन्नलाई दिए । त्यसपछि गाडीमा रहेका तीनै जना त्रिपुरेश्वर हुँदै बाटो लागे । यता कौशल केही बेरपछि पक्राउ परे । त्यसअघि कौशल घुमुवा कठायतसँगै थिए ।

प्रहरी स्रोतका अनुसार कुनै व्यापारी वा व्यक्तिलाई सामान बेच्नका लागि प्रबन्ध मिलाउने क्रममा सूचना चुहिएको थियो । प्रसन्नले झोलामा भएको सामानमध्ये सुनजस्तो १ केजी पहेँलो धातु बागबजारस्थित मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठको कोठामा लगेर राखे र बाँकी आफूले कमलादीबाट बरामद गरेको भन्दै डीएसपी दाहाललाई बुझाए । कमलादीमा तस्कर झोला मिल्काएर भागेको भन्दै डीएसपी दाहालले काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई जानकारी दिए । ज्ञवाली आफैं सुनचाँदी व्यवसायी महासंघ पुगेर परीक्षण गर्दा साढे १४ केजी सामान सुनले लेपन गरेको चाँदी र ७ सय ५० ग्राम सक्कली सुन भएको पाइयो । यसको मूल्य करिब ५८ लाख जति पर्ने देखियो । साथमा २ थान पेस्तोल पनि थियो । एकातिर तस्करीमा संलग्न व्यक्तिबाटै झोला मिल्काएको भनिनु र अर्कातिर घटनास्थल कमलादी भएको जानकारी स्वयं डीएसपी दाहालले परिसरमा गराउनुले घटना शंकास्पद बन्यो । चौबीसै घण्टा प्रहरी पहरा रहने क्षेत्रबाट कसरी एकाएक गाडी गायब बन्यो, प्रहरी गाडी खोज्नभन्दा सुन परीक्षण गर्नतिर किन केन्द्रित भयो भन्ने प्रश्न उब्जियो ।

वृत्तले दिएको जानकारीअनुसार नै परिसर प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर घटनास्थल कमलादी भएको र त्यहींबाट झोला बरामद गरिएको जानकारी दिए । ‘तर घटनास्थल सुन्धारा रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘दरबारमार्गका घुमुवाले सामान बुझेका कारण प्रहरी वृत्त जनसेवा घटनास्थल भए पनि कमलादी उल्लेख गरियो । सक्कली सुन भएको भन्ठानेर त्यसबाट आउने कमिसन/सुराकी भत्ताको लोभमा परेको देखिन्छ ।’

गाडी फेला नपरेपछि सूचना दिने घुमुवा प्रहरी कठायत नै पक्राउ परे । उनको बयानका आधारमा अर्का घुमुवा प्रसन्न समातिए । प्रसन्नको बयानपछि उमेशको कोठा खानतलासी गर्दा १ केजी सुनजस्तो धातु बरामद भयो । उमेश पक्राउ परे । उनीहरूसँग सम्पर्कमा रहेका भारतीय नागरिक कौशल पनि समातिए । ‘हामीलाई सक्कली सुन भनिएको थियो, त्यही भएर १ केजी ४ जनाले बाँड्ने गरी राखेर बाँकी प्रहरीमा बुझाएका हौं,’ एक घुमुवाले बयानमा भनेका छन् । घटनास्थलको गलत जानकारी र अपराध अनुसन्धानमा लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयमा दरबारमार्गका डीएसपी दाहाललाई फिर्ता बोलाइसकेको छ । ‘गलत विवरण दिनुका साथै प्रभावकारी अनुसन्धान गर्न नसकेपछि डीएसपीलाई फिर्ता बोलाएर अर्कैलाई वृत्तमा पठाइएको छ,’ स्रोतले भन्यो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्