लेखराज भट्ट भने- सरकार र पार्टी दुवैमा ओलीको विकल्प छैन


 


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक-थ्रु’ हुनुपर्ने बताएका हुन्।

उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ। पार्टी भनेको सबै हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन्।’उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए।‘सबै एकै ठाउँमा आउनुहुन्छ। र, सहमति हुन्छ। सहमतिको विकल्प छैन्।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ। उनले भने,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो।’

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे। यद्धपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए। उनले भने‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं।’ वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिनेपनि उनले जनाए। एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ।

उनले भने,‘हामी महाधिवेशनबाट नेतृत्वपनि सहमतिमै टुँगो लगाउँछौं।’ मन्त्री भट्टले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे। उनले भने,‘म दुवै अध्यक्षको क्याम्पमा छु। दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ। यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ। र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही। तर, म एकताको पक्षमा छु। पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो।’

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्