आमा र दियो
कविता राई गाउँले
आमा !
जब तपाईंका हात नै
थर्थराइरहेका छन् भने
आराम गरेर बस्नुस् न
किन खुट्टाले बाती काड्नु भा’को ?
खुट्टाले कातेको बाती
बाल्नु हँुदैन भनेर
तपार्इंले नै भन्नु भा’को होइन ?
आमा !
चर्किएको दियोमा
किन तेल थप्नुु भा’को ?
चर्केका जुनसुकै कुरा
अशुभ हुन्छन्
तपार्इंले नै भन्नु भा’को होइन ?
आमा !
हुरी चलेको बेला
किन दियो सल्काउन आँट्नु भा’को ?
मनोकामनाका लागि दियो बालिन्छ
र बाल्दाबाल्दैको दियो निभ्यो भने
कुनै पनि कामना पूरा हुँदैन भन्ने सत्य
तपाईंले नै सुनाउनु भा’को होइन ?
आमा !
बिन्ती छ— यो बाती, यो दियो
अनि तेलको चक्करमा
नअल्मलिनुस् न तपाईं
किनकि–
तपाईंलाई थाहै छ
दियोको उज्यालोले
रात कहिल्यै उज्यालिन्न
न त दिनलाई
दियोको जरुरत नै पर्छ ।
– पशुपतिनगर, इलाम
प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार