अमेरिकी अधिकारीद्वारा चिनियाँ वाणिज्य दूतावासमा छापा


 


वासिङटन, साउन ११
अमेरिकी अधिकारीहरुको समूहले हस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको कार्यालयमा जबर्जस्ती ढोका खोलेका छन् । शुक्रबार साँझ ती अधिकारीहरुले दूतावासको पछाडिपट्टीको ढोका खोल्दै गरेको दृश्य सामाजिक सञ्जालमा समेत छाएको छ । तर अमेरिकी अधिकारी र दूतावासका अधिकारीहरुले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएपछि दूतावासको कार्यालयमा यस्तो दृश्य देखिएको हो । चिनियाँ अधिकारीहरुले शुक्रबार दूतावास छाडेको केही घण्टामै अमेरिकी अधिकारीहरुले कार्यालयको ढोका खोलिदिएका हुन् । यस्तै घटनास्थलमा ट्रम्पको आदेश आउनुअघि नै आगो बलिरहेको दृश्य समेत देखिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

स्रोतको हवाला दिँदै अमेरिकी मिडियाले दूतावास जासूसहरुको केन्द्रको रुपमा चिनिने गरेको दावी गरेका छन् । चिनियाँ एजेन्टहरुले मेडिकल र वैज्ञानिक अनुसन्धानका लागि दूतावासको प्रयोग गर्दैआएको आरोप लगाइन्छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोही कारणले पनि चिनियाँ दूतावासमा अमेरिकी अधिकारीहरुले छापा मारेका हुन् । जुन घटना ट्रम्पको आदेश लगत्तै भएको थियो । गत बुधबार ट्रम्पले चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएका थिए । चीनले भने शुक्रबारसम्म काम बन्द गर्ने जनाएको थियो ।

प्रकाशित मिति: ११ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्