नुवाकाेट र रसुवाकाे यातायात खुल्याे


 


नुवाकाेट, असाेज १४

पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज गरेको यातायात बन्द दिउँसो ३ बजेपछि खुलेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा असोज १९ गते केरुङ यातायात र पासाङल्हामु यातायातका प्रतिनिधिहरु बसेर विवाद समाधान गर्ने सहमति भएको छ ।

पासाङल्हामुले दिनभर नुवाकोट र रसुवामा यातायात ठप्प बनाएपछि गन्तव्यमा जान हिँडेका यात्रुहरु विच बाटोमै अलपत्र परेका थिए । नुवाकोट र रसुवामा एकतर्फी यातायात सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि केरुङ यातायातले थप वस सेवा सञ्चालन गरेपछि पासाङल्हामुका वस सञ्चालकहरु विरोधमा उत्रिएका हुन् ।

विहानैदेखि पासाङल्हामु यातायात सेवा समितिका एक सय ५० भन्दा धेरै वसहरु सदरमुकाम विदुरसहित आसपासको सडकमा वस तेस्र्याएर अवरोध गरेका छन् । मुख्य सडकमा अन्य यातायातका साधन सञ्चालन गर्नै नसकिने गरी भएको अवरोधलाई हटाउनको लागि प्रहरी कार्यालयले दिउँसो दुवै पक्षलाई वार्तामा बोलाएर पासाङल्हामुलाई आन्दोलन स्थगित गराउन पहल गरेको छ ।

छलफलमा केरुङले यातायात व्यवस्था विभागको स्वीकृति बेगरका एउटा वस सञ्चालनमा ल्याएको र त्यसलाई सञ्चालनमा रोक लगाउनुपर्ने माग राखेकोमा सो वसको सम्वन्धमा स्थानीय प्रशासनले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
पासाङल्हामुका एक सय ५० भन्दा धेरै बसहरु ढुंगे, त्रिशूली, बट्टार, पिपलटार क्षेत्रमा वसहरु लाइन लगाएर खडा गरिएकोमा दिउँसो ३ बजेपछि रुट परमिट नभएका वसहरुको छानविन गर्ने प्रहरीको प्रतिवद्धतापछि बन्द खुलाउन पासाङल्हामु तयार भएको हो ।

दिउँसो ३ बजेपछि प्रहरी प्रहरीले स्कटिङ गरेर रोकिएका सवारी साधन गन्तव्यतर्फ पठाएको नुवाकोटका एसपी देवबहादुर बोहोराले बताए ।राजमार्ग नै अवरुद्ध हुने गरी वस तेस्र्याएपछि दिनभर सदरमुकाम विदुरमा एम्बुलेन्स, व्यक्तिगत सवारी साधन, भाडाका र अन्य मालबाहक सवारीसमेत आवतजावत गर्न समस्या भएको थियो ।

काठमाडौंसहित जिल्लाका ग्रामीण भेगबाट आएको सवारी साधनलाई प्रहरीले विभिन्न स्थानमा रोकेर अनावश्यक झंझट दिएको यात्रुहरुले गुनासो गरेका छन् । पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले नयाँ बस सेवा सञ्चालनको अनुमति लिएको केरुङले पुराना बसहरुसमेत सञ्चालन गरेकोले विरोधमा उत्रनु परेको बताए ।

पासाङल्हामुले एकाधिकार तोडिएको विरोधमा यात्रा गर्न पाउने सर्वसाधारणको अधिकारमाथि पासाङल्हामुलाई स्वीकार्य नभएकाले विरोधमा उत्रिएको केरुङ यातायात प्रालिका अध्यक्ष किरण रिजालले बताउनुभयो । आजै काठमाडौं र ग्रामीण भेगबाट आएका सवारी साधन सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन प्रहरीले सहयोग नगरेको उहाँले आरोप लगाउनुभयो ।

बर्षौदेखि पुराना र थोक्रा गाडी सञ्चालन गर्दै आएको पासाङल्हामुको एकाधिकार तोड्दै नयाँ डिलक्स वसको सञ्चालनपछि पासाङल्हामु विरोधमा उत्रिएको यात्रुहरुको गुनासो रहेको छ । यात्रुहरुले सुविधा सम्पन्न वसमा सुरक्षित यात्रा गर्ने अवसरलाई चुनौती दिँदै पूरानै वसमा यात्रु कोच्न पाउनुपर्ने मान्यता बोकेको कारण यात्रुहरुले हैरानी व्यहोर्नुपरेको ढुंगेका एक व्यापारीले बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले कुनै पनि बहानामा हुने सिन्डिकेट प्रशासनलाई मान्य नहुने बताउँदै दुई व्यवसायीवीचको विवाद समाधान गर्नको लागि प्रशासनले समन्वय गरिरहेको बताए ।

प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्