हिन्दीलाई राष्ट्र भाषा बनाउन कांग्रेस सांसदको माग


 


debnarayan-kalwarकाठमाडौं, असोज १४ । व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा विभिन्न मागहरु राखेका छन् ।

जसमा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने विवादित विषय पनि परेको छ ।

नेपाली कांग्रेसका सांसद देवनारायण कलवारले संसद बैठकमा विशेष समय लिएर बोल्दै हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माग गरे ।

आफ्नै पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले हिन्दीलाई राष्ट्रिय भाषा बनाउन लबिङ गरिरहेका बेला कलवारले यो विषयलाई संसदमै उठाएका हुन् ।

उनले भनेका छन्– ‘हिन्दी भाषाको विषयमा केही माननीय सदस्यहरुले आपत्ति जनाउनुभएको छ । नेपालमा मेचीदेखि महाकालीसम्म, हिमाल–पहाड र तराईसम्म ५० प्रतिशत जनताले हिन्दी भाषा बोल्छन् र ८० प्रतिशत जनताले बुझ्छन् । जहाँ यत्रो जनताले हिन्दी बुझ्छन् र जानकारी राख्छन् भने म सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु कि हिन्दी राष्ट्रिय भाषा हुनुपर्छ । यो मेरो माग हो ।’

प्रमुख प्रतिपक्षी एमालेतर्फ संकेत गर्दै सांसद कलवारले अन्धो राष्ट्रवादले देशलाई पछाडी धकेलेको भन्दै आलोचना गरे ।

यसअघि कांग्रेसकै सांसद रामहरि खतिवडाले कुनै हालतमा हिन्दीलाई राष्ट्रिय भाषा मान्न नसकिने भन्दै त्यस्तो नगर्न सरकारलाई चेतावनी दिएका थिए ।

प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्