नयाँ ढाँचासहित लकडाउन लम्ब्याउने सरकारको तयारी
काठमाडौं । सरकारले लकडाउनको नयाँ ढाँचाबारे सोमबार निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ ।
साउन ७ गतेपछिको ढाँचा मन्त्रिपरिषद्मा छलफल गर्ने गरी विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि गृहकार्य भइरहेको सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार सीसीएमसीको निर्देशक समितिको आइतबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणको अवस्था विश्लेषण गरेको छ ।
चैत ११ सुरु भएको लकडाउन पटक–पटक थपिँदै साउन ७ गतेसम्म तोकिएको छ । जेठ अन्तिम सातादेखि धेरै क्षेत्रमा लकडाउन खुकुलो बनाइसकिएको छ। सरकारले हरेक २१ दिनमा कोरोना भाइरसको संक्रमणलाई हेरेर लकडाउन कडाइ वा खुकुलो गर्ने निर्णय लिने बताइएको छ ।
निजी सवारी साधनलाई जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन गर्नेदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने र पसलहरू खोल्नेसम्मका निर्णय सरकारले गरिसकेको छ । सार्वजनिक यातायात पनि सञ्चालन गर्न मिल्ने निर्णय गरेपछि सहरमा ट्याक्सीले पनि सेवा दिन थालेका छन् । गत सोमबारबाट सार्वजनिक बस पनि गुड्न थालेका थिए । नेपाल समाचार पत्रबाट
प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार