बेलायतको ५जीबाट हुवावेलाई हटाउदा परिणामको विचार गर्न चीनको चेतावनी


 


एजेन्सी। पाँच वर्षअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्वपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्षको अवसरमा उत्सव मनाएका थिए । दुबै मुलुक निकै नजिक भएको विश्‍वलाई सन्देश दिएका थिए । तर, अहिले त्यो विषय एक मिठो यादजस्तो लाग्‍न थालेको छ ।

हाल बेलायत र चीनबीचको दूरी निकै धेरै बढेको छ । चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन लागु गरेसँगै बेलायत-चीनको दूरी बढेको हो । चीनले बेलायतसँग गरेको सम्झौता विपरीत हङकङमा नयाँ कानुन लागु गरेको थियो ।

उक्त कानुन लागु गरेसँग आक्रोशित बनेको बेलायतले चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावेलाई आफ्नो ५ जी नेटवर्कमा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धपछि चीनले यसको परिणामबारे विचार गर्न बेलायतलाई चेतावनी दिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सन् २०२७ सम्म बेलायतको ५ जी नेटवर्कबाट हुवावेका सम्पूर्ण उपकरण हटाइसक्न निर्देशन दिएका छन् ।

बेलायतले हुवावेमाथि प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त निर्णयमा आफू जिम्मेवार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बलायती प्रधानमन्त्री बोरिस जोन्सनको हुवावेलाई बेलायतको ५ जी नेटवर्कमा प्रतिबन्ध लगाउने निर्णयमा आफू जिम्मेवार रहेको बताएका हुन् ।

उनले भने, “हामीले धेरै मुलुकहरुलाई कन्भिन्स गरेका छौं । मैले नै हुवावे प्रयोग नगर्न भनेर धेरै मुलुकहरुलाई भनेको छु । बेलायतमा पनि हुवावेमाथि प्रतिबन्ध मैले गराएको हो । किनभने यो सुरक्षाका दृष्टिकोणले असुरक्षित र खतरापूर्ण छ । यो ठूलो सुरक्षा खतरा हो ।”

विश्वको सबभन्दा ठूलो टेलिकम उपकरण हुवावेलाई पश्‍चिमा मुलुकबाट लखेटिएको सन्देश प्रवाहित भएको छ । 

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्