‘प्रहरी कमजोर हुँदा शक्ति केन्द्रले रजगज गरे’


 


काठमाडौँ, असार २५
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरीलाई कमजोर बनाएर शक्ति केन्द्रले रजगज गरेको बताएका छन् । ३० वर्षे सेवाअवधिका कारण बिहीबारबाट अवकाश पाउन लागेका ज्ञवालीले वैज्ञानिक वृत्ति विकास प्रणाली नभएकै कारण लामो अनुभव र दक्षता भएका अधिकृतले एकै पटक अवकाश पाउने गरेको र यसको फाइदा प्रहरीलाई मजबुद र एकढिक्का भएको देख्‍न नचाहने शक्तिले लिएको टिप्पणी गरे ।

महानिरीक्षक ज्ञवालीले सार्वजनिक रुपमै संगठन हस्तक्षेपको शिकार बन्‍न पुगेको बताउनाले प्रहरीको कामकारबाही अपारदर्शी छ भन्ने पनि स्पष्ट पारिदिएको छ ।

प्रहरी प्रधान कार्यालयले आयोजना गरेको बदाई कार्यक्रममा बोल्दै ज्ञवालीले संगठन कमजोर हुनुमा गृह मन्त्रालयको पनि भूमिका भएको आरोप लगाए । पछिल्लो ५ महिनामा मात्रै डीआईजीदेखि आईजीपीसम्मका ३१ जना उच्च अधिकारीले अवकाश पाएका छन् । लामो अनुभव र सीप तथा दक्षता हासिल गरेका अधिकारीहरुको एकै पटक हुने यस्तो अवकाशले प्रहरी भन्दा बाहिरको शक्तिले चलखेल र रजगज गर्ने जोखिम रहेको उनको भनाइ छ ।

‘विदाइको यस घडीमा मैले किनपनि यस तथ्यमा जोड दिइरहेको छु भने प्रहरीलाई एकढिक्का र मजबुद भएको देख्‍न नचाहने समूह र शक्ति सधै अनिर्णयको बन्दी बनाएर रजगज गर्न प्रयासरत रहने गरेका छन्,’ महानिरीक्षकबाट बिदाई हुँदाको सम्बोधनमा उच्च अधिकारीहरुमाझ ज्ञवालीले भने, ‘सरुवा, बढुवा, काज र तालिमका लागि हाम्रा कर्मचारीहरु घाइते मृग जस्तै रणभुल्ल भएर बरालिनु परेमा त्यो जनशक्तिको संगठन र नेतृत्वप्रतिको श्रद्धाभाव क्षीण हुँदै जान्छ,त्यसको पीडा अन्ततः सेवाप्रवाहमा आम नागरिकले व्यहोर्नुपर्ने हुन्छ ।’ यसमा केही दोष प्रहरी उच्च अधिकारीहरुको पनि रहेको उनले स्वीकार गरे ।

‘केही दोष हाम्रोपनि छ, हाम्रो जनशक्तिको समस्या हामीले सम्बोधन नगरेमा उसले अनेकबाटो खोज्दै हिड्नु स्वभाविक पनि हो,’ ज्ञवालीले भने, ‘तर केवल व्यक्तिगत हित र लाभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने प्रवृत्ति र सोचले गर्दा आउने दबाबले संगठनलाई कदापी भलो गर्दैन ।’

गृहमन्त्रालयप्रति लक्षित गर्दै ज्ञवालीले आन्तरिक र बाहृय स्वार्थको संयोजन गर्दैमा प्रहरीको मर्यादा जोगाउने अनेकौं अवसरबाट वञ्चित हुनु परेको बताए । ‘हाम्रो अविभावकत्व निर्वाह गर्नुपर्ने संस्थाले आफ्नो भूमिका बिर्सिदिनाले प्रहरी संगठनलाई स्वार्थ समूहले कमजोर बनाउने निरन्तर प्रयास गरिरहेका हुन्छन् ।’ प्रहरीका प्रशासनिक निर्णयमा माथिबाट प्रभाव र दबाब हुने गरेको उनले बताए । सेवामा रहँदा आफूले सही र सत्य देखेको कुरा बिना हिचकिचाहट भनेको उनले बताए ।

अवकाशपछि पनि प्रहरीको मान र मर्यादालाई सम्मान र उच्चतम विन्दुमा स्थापित गर्न लागि रहने उनले बताए । आफ्नो कार्यकालमा सामूहिक निर्णय प्रणाली, कार्यक्षमता र दक्षताका आधारमा मूल्यांकन गरिएको र कोरोना संक्रमणका कारण कतिपय प्राथमिकतामा परेका विषय लागू गर्न नसकिएको उनले बताए ।

प्रकाशित मिति: २५ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्