अब एक व्यक्तिले दुई भन्दा बढी सीमकार्ड राख्न नपाइने
काठमाडौं, असार २२
अबदेखि कुनैपनि व्यक्तिले एउटै टेलिकमको दुई भन्दा बढी सीमकार्ड लिन नपाउने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि एउटै सेवाप्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सीमकार्ड राख्न नपाइने व्यवस्था गरेको हो । प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले यदि लिएको भएमा अर्काको नाममा नामसारी गरेर सेवा बन्द गर्नुपर्ने बताए ।
उनकाअनुसार प्राधिकरणले निर्णय गरी सेवाप्रदायकलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । नयाँ व्यवस्थाअनुसार यदि कुनै पनि ग्राहकले नेपाल टेलिकमका तीन सिमकार्ड लिएको भएमा एउटा सीम फिर्ता गर्नुपर्छ । यसरी फिर्ता गरेको सीम अर्कैका नाममा दर्ता हुन्छ ।
पछिल्लो समय अनधिकृत रुपमा उपयोग हुन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सीमकार्ड नियमन गर्न थालेको छ । प्राधिकरणले यसअघि एक सीमकार्ड निकाल्न आफै आफ्नो सक्कली परिचयपत्र लिएर उपस्थित हुनुपर्ने सूचना जारी गरेको थियो ।
प्रकाशित मिति: २२ असार २०७७, सोमबार