चिनीको मूल्य बढाउने चलखेल, उद्योगीहरूले लुकाएको आशंका
काठमाडौं, असार २२
गत बुधबारदेखि होलसेलमा मूल्य बढेपछि ठाउँअनुसार खुद्रा मूल्य फरकफरक देखिएको छ । उद्योगी÷आयातकर्ता र होलसेल व्यवसायीले मूल्य बढाएको खुद्रा व्यापार संघको दाबी छ । मौज्दात कम भएको भन्दै बुधबारदेखि होलसेल मूल्य प्रतिकिलो ८०÷८१ रुपैयाँसम्म पुर्याएको संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
‘उद्योगीहरूले चिनीको मौज्दात कम भन्छन् । त्यसको बहानामा बुधबारदेखि खरिद मूल्य नै प्रतिकिलो ८०÷८१ परेको छ,’ उनले भने, ‘यसअघि ७७ रुपैयाँमा खरिद हुँदा ठाउँअनुसार ७८ देखि ८५ रुपैयाँमा बिक्री हुन्थ्यो । खरिद नै ८१ रुपैयाँ हुँदा बजारभाउ ९० रुपैयाँसम्म पुग्ने देखियो ।’ हाल खुद्रा व्यापारीसँग पुरानै मौज्दात छ । त्यो करिब ८५ रुपैयाँसम्ममा बिक्री गरिरहेको उनले बताए ।
होलसेल व्यवसायी सञ्जय फुयालले पनि उद्योगीले नै मूल्य बढाएको दाबी गरे । नेपालको उत्पादन सकियो भन्दै चिनी उद्योगीले मूल्य बढाएको उनले बताए । उनकाअनुसार भारतबाट सस्तो मूल्यमा आयात गरिएको चिनीलाई पनि यहाँ महँगोमा बेचिएको छ, ।
बजारभाउ महँगो हुँदा साल्ट ट्रेडिङ कर्पोरेसनले सस्तो मूल्यमा चिनी बिक्री गर्दै आएको छ । साल्टको चिनीको मूल्य प्रतिकिलो ७३ रुपैयाँ छ । उक्त चिनी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भएको साल्टको दाबी छ । तर चिनी मौज्दात नरहेको सहायक महाप्रबन्धक कुमारराज राजभण्डारीले बताए ।
‘हामीलाई मासिक करिब २५ हजार टन चाहिन्छ । तर करिब १ हजार टन मात्रै मौज्दात छ,’ उनले भने । आपूर्तिको अवस्थाबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जानकारी गराएका छौं ।’ जानकारका अनुसार दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ । नयाँ क्रसिङ हुन अझै ६ महिना लाग्छ ।
उद्योगीहरूसँग भएको मौज्दात साउनसम्मलाई मात्रै पुग्ने चिनी उत्पादक संघका अध्यक्ष शशिकुमार अग्रवालले बताए । ‘मौज्दातको सन्दर्भमा असार १ मै पत्राचार गरेका थियौं । भदौबाट समस्या हुन सक्छ,’ उनले भने, ‘थप ४० हजार टन आयात गर्न अनुरोध गरेका छौं ।’ चाडबाडमा अभाव हुन नदिन केही परिमाणमा आयात गर्नुपर्ने उनको भनाइ छ ।
बजार हस्तक्षेप गर्न भन्सार छुटमा चिनी आयात गर्न खोज्दा बाधक बन्दै आएका उद्योगीहरूले यसपटक आयात गर्न मन्त्रालयमा पत्राचार गरेका थिए । बजार विश्लेषण गरेर भन्सार छुटमा ५० हजार टन आयातका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । ‘डेढ महिनाअघि नै अर्थमा प्रस्ताव पठाएका थियौं । तर त्यताबाट सहमति आइसकेको छैन,’ उनले भनिन्, ‘अर्थले सहमति दिएपछि मन्त्रिपरिषद्मा पेस गर्छौं ।’
चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ६१ करोड रुपैयाँबराबरको ३३ हजार टन चिनी आयात भएको भन्सार विभागको तथ्यांक छ । एक महिनाअघि उद्योगीले करिब ३६ हजार टन मौज्दात रहेको जानकारी गराएको केसीको भनाइ छ । त्यसैले मौज्दात परिमाण उद्योगीहरूले लुकाएको हुन सक्ने उनले बताइन् । ‘खुद्रा बजारमा प्रतिकिलो ८९ रुपैयाँसम्म पुगेको खबर पाएका छौं,’ उनले भनिन् ।
बजार अनुगमन तथा नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चिनीको मूल्य विश्लेषण गरिरहेको जनाएको छ । कान्तिपुर दैनिक
प्रकाशित मिति: २२ असार २०७७, सोमबार