ओली-देउवा गोप्य भेट: ओलीइतर र पौडेल पक्ष सशंकित


 



काठमाडौं, असार २१
सत्तारुढ नेकपाभिको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।

देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घन्टा गोप्य छलफल भएको थियो ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार त्यसदिनको भेटघाट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीका विषयलाई लिएर मात्र भएको थियो ।

‘प्रधानमन्त्रीले बोलाइसेपछि प्रमुख प्रतिपक्षी दलको नेता नजाने स्थिति हुन्न । भेटघाटमा नेकपाभित्रको विवाद र घटनाक्रमबारे केही कुरा भयो कि भनेर हामीले पनि सभापतिसँग चासो राखेका थियौं तर उहाँले त्यसबारे कुरै नभएको र आयोगका पदाधिकारी नियुक्तीका विषयमा छलफल भएको बताउनुभयो’, निधिले भने, ‘सभापतिले त्यति भनिसकेपछि आशंका गर्ने कुरै भएन ।’

ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित बनाएकै छ, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित छ । देउवाप्रति लक्ष्य गर्दै पौडेलले शनिबार एक सार्वजनिक कार्यक्रममै अंक गणितको जोड घटाउमा कांग्रेस लाग्न हुन्न ।

जोड घटाउ गरेर पत्ताप्राप्तिका लागि होइन, सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ,’ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलको भनाइ थियो,‘अरुको घर भत्केला र आफ्नो घर बन्ला भनेर सोच्नु दुर्भाग्यपूर्ण ।’ कान्तिपुर दैनिक

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्