क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षलाई कोरोना संक्रमण


 


राजविराज, असार २०
क्वारेन्टाइन व्यवस्थापनको काममा खटिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका एक वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका ५८ वर्षीय वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको तिलाठी कोइलाडी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका जनप्रतिनिधीहरु, कर्मचारी, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकमीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा वडा अध्यक्षको रिपोर्ट पोजिटिभ आएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट रिपोर्ट पोजिटिभ आएपछि उनलाई आफ्नै निवासमा आइसोलेसन गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए ।

वडा अध्यक्ष र अग्निसाईर कृष्णसवरण गाउँपालिकाका १२ वर्षीय बालक संक्रमित भएपछि समुदायमा संक्रमण फैलिएको पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

पछिल्लो दुई सातामा तिलाठी कोइलाडी गाउँपालिकामा संक्रमितको सङ्ख्या ह्वात्तै बढेर ४२ पुगेको छ । सप्तरीको संक्रमित हुनेको सङ्ख्या १ सय ५० नाघेपछि असार २ गते मात्र तिलाठी कोइलाडी गाउँपालिकामा पहिलो संक्रमित फेला परेको थियो ।

सप्तरीमा चार दिनको अवधिमा ५८ जनामा कोरोना पुष्टि भएपछि कूल संक्रमितको सङ्ख्या २ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्