सलहले मकैबाली सखाप, किसान चिन्तित
प्यूठान, असार १९
मकै छरेको केही समयमै फौजी कीराको चपेटामा परेका किसानहरू पछिल्लो समय सलह कीराको प्रकोपबाट पीडित भएका छन् । शनिवार तराईका जिल्ला हुँदै पहाडी जिल्ला प्रवेश गरेको कीराले पहाडी अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।
सोमवार प्यूठानको सरुमारानी गाउँपालिकास्थित बांगेसालमा फाट्टफुट्ट देखा परेको सलह कीरा त्यसयता प्यूठानका सबै स्थानीय तहमा फैलिएको छ । लाखौंको संख्यामा भित्रिएको सलह कीराको झुण्डले अहिले किसानले लगाएको अन्नबालीमा क्षति पुर्याइरहेको छ ।
आकाशै ढाक्ने गरी आएको सलह कीराले तरकारी, पसाउन लागेको मकैबाली र भर्खर रोपेको धानमा समेत क्षति पुर्याउन थालेको छ । किसानहरू बिहानैदेखि बारीमा आगो बालेर धुवाँ फैलाउँदै थाल ठटाएर, मादल तथा भ्mयाली बजाएर कीरा भगाउन व्यस्त छन् ।
लामो समय फौजी कीराको मारमा परेका किसान अहिले सहल कीराको प्रकोप सामना गरिरहेका छन् । ‘पहिला फौजी कीरा र अहिले सलह कीराले बालीमा क्षति ग¥यो’, सरुमारानी गाउँपालिका–३ दुमहीका किसान चुमबहादुर रानाले भने, ‘मकैबाली नष्ट गरेपछि भोकमरी लाग्ने भयो अब छोराछोरी कसरी पाल्ने हो ।’
ठूलो संख्यामा रहेको सलह कीराले फल्न थालेका मकैका बोट ठूटै पारेको छ । किसानहरू पातविहीन मकैको बोट हेर्दै भविष्यमा भोकमरी हुन सक्ने चिन्तामा छन् । सलह कीराले हंसपुरमा मात्रै ३०० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको मकैबाली नष्ट पारेको छ ।
यस्तै जिल्लाको गौमुखी, मल्लरानी, प्यूठान नगरपालिकासहित ९ ओटै स्थानीय तहमा लगाइएका बालीनालीमा क्षति पुर्याएको छ । वर्षभरीका लागि किसानले लगाएको मकै, तरकारी तथा अन्य अन्नबाली सलह कीराले क्षणभरमै नष्ट गरेको हो ।
सलह भारतबाट नेपालको तराइका जिल्ला हुँदै प्यूठान आएको हो । यसलाई नियन्त्रण गर्न गाह्रो भएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । उनका अनुसार सलहले गौमुखी गाउँपालिका–१ अर्घामा ठूलो क्षति पुर्याएको छ । ‘अर्खा, रजवारामा लगाएको मकैमा क्षति पु¥याएको छ’, उनले भने, ‘सलह नियन्त्रण गर्न सकिएको छैन् ।’
तत्काल सहल धपाउने उपाय निकाल्न नसके भोकमरीको गम्भीर समस्या पर्न सक्ने भन्दै किसानहरूले सलह रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेको बताएका छन् । अभियान दैनिक
प्रकाशित मिति: १८ असार २०७७, बिहिबार