कोरोना महामारीको अझै खराब अवस्था आउन सक्ने डब्ल्युएचओको चेतावनी


 


काठमाडौं, असार १६
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ )ले कोरोना भाइरसको महामारीले अझै खराब अवस्था निम्त्याउने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारी फैलिए पनि आर्थिक गतिविधि र जनजीवन समान्य बनाउने नाममा विभिन्न मुलुकहरूले महामारी नियन्त्रणका लागि सही नीति अवलम्बन नगर्दा कोरोना भाइरसबाट अझै धेरै मानिसहरु संक्रमित हुने चेतावनी दिएका हुन् ।

महामारी नियन्त्रणका लागि अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिन नै उपयुक्त उपाय भएको उनको सुझाव छ । ‘हामी सबै जीवन जिउन चाहन्छौँ । तर कठीन सत्य यो हो कि, महामारी अन्त्य हुने सम्भावनाको नजिक पनि छैन,’ टेडरोजले सोमबारको ब्रिफिङमा भने ।

कोरोना भाइरस पहिलोपटक गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको थियो । त्यसयता विभिन्न मुलुकहरूले महामारी फैलन नदिन लगाएको भ्रमण प्रतिबन्ध तथा लकडाउन खुकुलो बनाउँदै सामान्य अवस्थाझैँ दैनिक गतिविधि अगाडि बढाउँदै लगेका छन् ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्