कुर्सी हल्लिदा भारतलाई दोष!


 


काठमाडौँ, असार १५
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको बताएका छन्। भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि आफूलाई हटाउन चलखेल भएको आरोप उनले लगाए। ओलीले आफू संकटमा पर्दा भारतमाथि आरोप लगाएको यो पहिलोपटक भने होइन्।

ओलीले आफूले पहिलोपटक गठबन्धन सरकारको नेतृत्व गरेको नौ महिनापछि तत्कालीन एकीकृत माओवादीले समर्थन फिर्ता गर्नुका पछाडि पनि भारतको हात रहेको आरोप त्यतिबेला लगाएका थिए। ‘अहिले सरकार परिवर्तनको प्रक्रिया सामान्य होइन, रिमोट कन्ट्रोलले काम गरेको छ,’ २०१६ जुलाई दोस्रो साता माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि ओलीले भनेका थिए।

आफ्नो कुर्सी संकटमा पर्दा वा जनताको विश्वास जित्न भारतलाई आरोप लगाउने ओली एकमात्र पात्र भने होइनन्। पुष्पकमल दाहालले पनि पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिँदा भारतलाई नै दोष लगाएका थिए। उनले सन् २००९ मा तत्कालीन प्रधानसेनापति रुक्मागत कटवाल प्रकरणमा राजीनामा दिँदै भनेका थिए, ‘मैले विदेशी शक्ति र प्रतिक्रियावादी तत्वसँग झुक्नुभन्दा पदबाट राजीनामा दिने निर्णय गरें।’ त्यतिबोल तत्कालीन नेकपा माओवादीबाट प्रधानमन्त्री भएका दाहाल अहिले नेकपाको कार्यकारी अध्यक्ष छन्।

२०६७ सालमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग ६ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्दा पनि जित हासिल गर्न नसकेपछि दाहालले त्यसका पछाडि भारतीय भूमिका रहेको आरोप लगाएका थिए। दाहालले जनवरी २०१० मा एक कार्यक्रमलाई सम्बोधन गर्दै नारायणहिटी दरबार हत्याकाण्डमा पनि भारतको हात भएको आरोप लगाएका थिए। दाहालको नेतृत्वमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका बेला भारतलाई प्रधान शत्रु मान्दै बंकर युद्धको पनि घोषणा गरिएको थियो। तर पछि माओवादी द्वन्द्वलाई भारतबाट सहयोग र समर्थन मिलेका तथ्यहरु पुष्टि हुँदै गए।

पूर्वप्रधानमन्त्री एवं हाल जनता समाजवादी पार्टीका नेता (तत्कालीन विद्रोही माओवादी नेता) बाबुराम भट्टराईले आइतबार प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति व्यंग गर्दै ट्विट गरेका छन्। उनको ट्विटमा छ, ‘बहुमत प्राप्त प्रम ओलीलाई आफ्नै पार्टीलेबाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन। तर अहिले हटाए नक्सा छापेको कारणले हुने ! भोलि सलहले दुःख दिएको बेला हुने ! पछि बाढीपैरो आएको बेला हुने ! अलिपछि दसैंतिहारको बेला हुने ! अनि जाडोको बेला हुने ! उचित बेला चैं कैले रच हँ ?’ दाहाल नेतृत्वमा पहिलोपटक बनेको सरकारमा अर्थमन्त्री रहेका यिनै भट्टराईले उक्त सरकार ढल्नुको कारण दिल्ली रहेको आरोप लगाएका थिए। तत्कालीन सरकारले प्रधानसेनापति कटवाललाई हटाउन गरेको निर्णयलाई राष्ट्रपति रामवरण यादवले उल्टाइदिएका थिए। भट्टराइले त्यसको दोष दिल्लीलाई लगाएका थिए।

‘आफूले खुट्टा टेक्न नसकेपछि भारतलाई दोष लगाउने रोग पुरानै हो’

राजनीतिक विश्लेषक हरि रोका आफू कमजोर हुँदा भारतलाई दोष लगाउने रोग पुरानै भएको बताउँछन्। २००७ सालको क्रान्तिपछि भारतले लामो समयसम्म नेपालमा माइक्रोम्यानेजमेन्ट गरेको सत्य भए पनि पछिल्लो समय आफ्नो असफलतालाई पनि दिल्लीसँग जोड्ने प्रवृत्ति बढेको उनी बताउँछन्। अहिले शक्तिशाली सरकारको प्रधानमन्त्रीले आफ्नो कमजोरी लुकाउन भारतलाई आरोप लगाए पनि महाकाली सन्धिका बेला भारतको माइक्रोम्यानेजमेन्ट रहेको र त्यतिबेला ओली भारतका लागि प्रयोग भएको रोका बताउँछन्। ‘अहिले प्रधानमन्त्री फेर्न नेपाली संसद्ले मात्र सक्छ, प्रधानमन्त्री संसद्को बहुमतबाट निर्वाचित भएकाले हटाउने अधिकार पनि संसद्लाई मात्र छ, भारतलाई छैन,’ उनले भने।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा बहुमतमा हुँदाहुँदै पनि पार्टीभित्रको व्यवस्थापन गर्न नसक्दा संसद् विघटन गरेको उदाहरण दिँदै रोकाले अहिले ओलीको अवस्था पनि त्यस्तै रहेको बताए।

राजनीतिक विश्लेषक रोका नेपाली नेताहरुले आफैंले राम्रोसँग खुट्टा टेक्न नसक्दा त्यसको दोष अरुलाई दिने गरेको बताउँछन्। परराष्ट्र नीति, कोरोना संकट व्यवस्थापन, आर्थिक नीति तथा भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री ओली असफल भएको आरोप पार्टीभित्रैबाट लागेको छ। पार्टीभित्रैबाट प्रधानमन्त्रीको विकल्प खोज्न थालिएपछि ओलीले यस्तो फण्डा अघि सारेको रोकाको बुझाइ छ। नागरिक दैनिकबाट

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्