लकडाउन खुलेपछि काराेनाले लियाे बिकराल रूप


 


एजेन्सी, असार १३
भारतको दिल्लीमा लकडाउन हटाएयता दिल्लीमा परीक्षणमा आएको तिव्रतासँगै संक्रमितको संख्या पनि बढिरहेको हो। पहिले दैनिक ६ हजार परीक्षण हुने गरेकोमा हाल दैनिक १६ हजार दैनिक परीक्षण हुने गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना परीक्षण क्षमता ३ गुणा बढाइएको र दैनिक ३ हजारको संख्यामा संक्रमित बढिरहेको बताएका थिए। दिल्लीमा कूल संक्रमितमध्ये ४५ हजार निको भएका छन् भने दिल्ली प्रदेशमा २६ हजार सक्रिय संक्रमित रहेको उनले बताए।

त्यस्तै मृत्यु हुनेको संख्या ५ गुणा बढेको छ। मे महिनाको अन्त्यसम्म दिल्लीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७३ रहेकोमा १५ जुनसम्ममा १५ सय र २६ जुन शुक्रबारसम्ममा २ हजार ४ सय २९ पुगेको हो।

मुम्बईमा भने ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। दिल्लीमा मृत्युदर ३ प्रतिशत रहेकोमा मुम्बईमा भने ५ प्रतिशत रहेको बताइएको छ।

यसैबीच, दिल्लीमा शैक्षिक संस्था आगामी ३१ जुलाईसम्म बन्द गर्ने घोषणा गरिएको छ । दिल्लीका शिक्षामन्त्री मनिष सिसोदियाले शुक्रबार भएको एक उच्चस्तरीय बैठकपछि यो घोषणा गरेका हुन्।

प्रकाशित मिति: १३ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्