बैठक ‘उपेक्षा’ गरेको भन्दै प्रधानमन्त्रीको आलोचना
काठमाडौँ — ६ महिनापछि बसेको स्थायी कमिटी बैठकलाई उपेक्षा गरेकोमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार एजेन्डामाथि धारणा राख्ने क्रममा स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थित भएकोमा आलोचना गरेका हुन् ।
नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी काम सम्पन्न गर्ने र एमसिसीजस्ता राष्ट्रिय एवं पार्टी जीवनका दीर्घकालीन महत्वका एजेन्डा केन्द्रित छलफल हुने दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री अनुपस्थित भएकोमा सदस्यहरुको असन्तुष्टि थियो ।
स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, रघुवीर महासेठ, लिलामणि पाखेरल, भीम रावल, पम्फा भुसाललगायतका नेताहरुले बैठकमा प्रधामन्त्री ओली किन उपस्थित नभएको भन्दै प्रश्न उठाएका थिए । नेता शाक्यले प्रधानमन्त्री बिना बैठक खल्लो भएको भन्दै बैठक राख्नै नमान्ने राखेपछि भागेर हुन्छ भन्दै प्रश्न गरेकी थिइन् । उनले यसरी पार नलाग्ने बताएकी थिईन् । शाक्यले बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै यो बैठक धुम्बाराहीमा राख्नुपर्ने माग गरकी थिइन् ।
नेता रावलले ‘प्रधानमन्त्री किन नआएको ? पछि आलोचना गर्यो भने सरकारको विरोध भयो भन्ने ?’भन्दै प्रश्न गरेका थिए । नेता महासेठले प्रधानमन्त्री बीना छलफलको के औचित्य भन्दै प्रधानमन्त्री चाहियो भनेर कुरा राखेका थिए ।
नेता रावलले त बैठक कक्षको मञ्चमा दुई अध्यक्षका लागि छुट्टै सोफा किन राखेको भनेर प्रश्न गरेका थिए । यो सामन्तवाद प्रवृति भएको भन्दै हटाउन माग गरे । उनले कुरामा सबैले ताली बजाएर समर्थन गरेका थिए । त्यसलगत्तै अध्यक्षद्वयका लागि मञ्चमा राखिएका सोफा हटाईएको एक नेताले जानकारी दिए । त्यसपछि अन्य सदस्यलाई जस्तै कुर्सीको व्यवस्था त्यहाँ भएको थियो । बुधबारको बैठकमा नेता नेपालले आफ्नो कुर्सी पछाडि राखिएको भन्दै आफैं अगाडि सारेर अध्यक्षद्धय ओली र दाहालको समकक्षमा बसेका थिए ।
अधिकांश सदस्यहरुले बैठकमा प्रधानमन्त्री किन अनुपस्थित भन्ने प्रश्न गरेपछि महासचिव विष्णु पौडेलमार्फत् अध्यक्ष पुष्पकमल दाहालले कार्यव्यस्तताका कारण अनुपस्थित भएको र कुनै पनि बेला उपस्थित हुने बताएका थिए । त्यसपछि अध्यक्ष दाहालले बैठक सुरु गरेका थिए । बैठकको सुरुको दिन सात एजेन्डामध्ये दुई अध्यक्षको सम्बोधन पनि थियो । त्यसैअनुसार बुधबार सम्बोधन गरेका ओली शुक्रबार बालुवाटारमै भएर बैठकमा अनुपस्थित भएका हुन् । यसैलाई लिएर नेताहरुले बैठकलाई प्रधानमन्त्रीले उपेक्षा गरेको आरोप लगाए र आपत्ति जनाएका थिए ।
शुक्रबारको बैठकमा सदस्यले नेपालको सीमा समस्या र समाधान केन्द्रित भएर बोलेका छन् । बैठकमा १८ स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बुधबारको बैठकमा सरकार र पार्टी सञ्चालनका विषयमा अध्यक्षद्वय ओली र दाहालका फरक–फरक धारणा आएका थिए । सरकारको काम प्रभावकारी भएको प्रधानमन्त्रीको दावीमा वरिष्ठ नेता नेपालले आपत्ति जनाएका थिए । त्यसपछि बसेको बैठकमा ओली अनुपस्थित भएका हुन् । बैठकका लागि सात एजेन्डा तय भएका छन् ।
बैठक व्यवस्थित बनाउन बिहीबार अध्यक्षद्वय ओली र दाहाल तथा अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालबीच छलफल भएको थियो । दुवै बैठकमा पार्टी महासचिव पौडेल सहभागी थिए । बिहीबारको यो संवादपछि शुक्रबार बैठक अगाडि पनि अध्यक्षद्वय ओली र दाहालबीच भेट भएको थियो । सरकारको राम्रो कामको पार्टी नेताहरुले बचाउ र प्रचार नगरेको प्रधानमन्त्री एवं अध्यक्ष ओलीको गुनासो छ । कान्तिपुर दैनिकबाट
प्रकाशित मिति: १३ असार २०७७, शनिबार