कोरोना अपडेट: विश्वका २ सय १५ मुलुकमा संक्रमण फैलियाे


 


काठमाडौं, असार १२
विश्वका २ सय १५ मुलुकका ९६ लाख ९८ हजार २ सय ९० जना व्यक्ति कोरोना संक्रमित रहेका छन् । कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । केही समययता अमेरिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजारभन्दा बढी कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार अघिल्लो दिनको तुलनामा ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । ब्राजिलमा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको हो । ब्राजिलमा १२ लाख ३३ हजार १ सय ४७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

अमेरिका, ब्राजिल र रसियापछि भारतमा धेरै कोरोना संक्रमितको संख्या पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा कुल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ६ सय ७१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ४ सय १ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय ८ पुगेको छ ।

युरोपेली मुलुकमध्ये रसियामा सबैभन्दा संक्रमित भेटिएका छन् । रसियामा ६ लाख १३ हजार ९ सय ९४ मा कोरोना पुष्टि भएको छ भने गएको २४ घण्टामा ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै युरोपका देश बेलायत, स्पेन, इटली, जर्मनी र फ्रान्समा पनि कोरोना संक्रमितको संख्या उच्च देखिएको छ ।

युरोपका मुलुकमा २३ लाख ७२ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ८९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा ४ सय १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकमा २९ लाखभन्दा बढी कोरोनाको संक्रमणमा छन् भने ४५ हजारभन्दा बढी नयाँ थपिएका छन् । उत्तर अमेरिकाका देशहरुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ३ सय १० पुगेको छ । निको हुने १३ लाख ८ हजार छन् ।

एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशमा भारत छ । भारतपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ । यस्तै बंगलादेशमा १ लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय जना नयाँ संक्रमित पुष्टि भएको छ ।

पहिलोपटक कोरोना भाइरस भेटिएको देश चीनमा पछिल्लो २४ घण्टामा १९ जना मात्र नयाँ संक्रमित थपिएका छन् । चीनमा कोरोना संक्रमितको संख्या ८३ हजार ४ सय ४९ पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा १९ लाख ८४ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७७ हजार ८ सय ५० जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी मुलुकमा पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै संक्रमित ब्राजिलका छन् ।

अफ्रिकाका ५७ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अफ्रिकामामा ३ लाख ५० हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ भने ९ हजार १ सय ३ जनाले ज्यान गुमाएका छन् ।

अफ्रिकाली देशमध्ये दक्षिण अफ्रिकामा १ लाख १८ हजार ३ सय ७५ जना कोरोना संक्रमित देखिएका छन् । त्यसपछि इजिप्टमा ६१ हजार १ सय ३० जनामा कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ ।

प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्