अदालतको अवहेलना मुद्दामा सर्वाेच्चले प्रधानमन्त्रीलाई दियाे निर्देशन


 


काठमाडौँ, असार ११
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव लोकदर्शन रेग्मीलाई अन्तरिम आदेश पालना नहुनुको जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन नभएको विषयमा दायर निवेदनको सुनुवाइ गर्दै अदालतको अवहेलना आरोपमा किन कारबाही नगर्ने भनी प्रश्न सोधेको हो ।

सर्वोच्चले १५ दिनभित्र प्रधानमन्त्री ओली र मुख्यसचिव रेग्मी आफैं सर्वोच्चमा उपस्थित भएर वा कानुन व्यवसायी पठाएर प्रतिउत्तर दिन भनेको छ । आफूले दायर गरेको रिट निवेदनमाथि अन्तरिम आदेश जारी भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले अवहेलनाको निवेदन दर्ता गराएका थिए ।

गत वैशाख ५ गते सर्वोच्चले राजमार्ग र सहरी क्षेत्रमा अलपत्र परेका नागरिकलाई गन्तव्यमा पुर्‍याउन आदेश दिएको थियो । सर्वोच्चले त्यसक्रममा अरू समुदायमा संक्रमण विस्तार नहुने सुनिश्चितता गर्न हरेकको कोरोना संक्रमण परीक्षण गर्न भनेको थियो । उक्त आदेश कार्यान्वयन नभएको भन्दै शर्माले निवेदन दिएका हुन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ११ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्