असारे विकासको चटारोले विकास आयोजनामा कमसल काम
काठमाडौं, असार ८
असारे विकास अझै पनि रोकिएको छैन । पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् ।
विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा सांसद्हरुले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँहरुले पहिले संरचना निर्माण गरेर मात्रै सडक निर्माण गर्दा दोहोरो खर्च नहुने सरकारलाई सुझाव दिनुभयो । बैठकमा समितिका सदस्य सञ्जयकुमार गौतमले आवको शुरुदेखि बनेका सडक अहिले खन्ने काम भइरहेको, केही समय पहिले जतासुकै कालोपत्र देखिएका ठाउँहरुमै अहिले धमाधम खन्ने काम भइरहेका र राष्ट्रिय गौरबको आयोजनाको प्रगतिका बिषयमा जानकारी दिन सरकारसित माग गर्नुभयो । उहाँले भन्नुभयो, “कुनकुन आयोजना कहिले सम्पन्न हुन्छ र त्यसको अहिलेसम्मको प्रगति कति छ जनतालाई जानकारी दिनुपर्छ ।”
समितिका सदस्य गौरीशंकर चौधरीले पहिले पैदलयात्रु मार्ग र ढल बनाएर पछि सडक बनाउनुपर्नेमा त्यसको ठीक विपरित भइरहेको तर्फ सरकारको ध्यान जावोस भन्नुभयो । उहाँले भन्नुभयो, “समन्वयको अभावमा पहिले सडक चिल्लो बनाउने पछि भत्काउने भइरहेको देखिएको छ ।”
अर्का सदस्य आशाकुमारी बिकले दुर्गम जिल्लामा योजना वर्षेनी दोहोरिने तर निर्माण कहिल्यै सम्पन्न नहुने समस्या रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षेनी किताबमा बजेट आउने तर योजना नसकिने हुँदा समस्या कहाँ छ भनी खोजी गर्न जरुरी छ ।”
समिति सदस्य केदार सिग्देलले मेलम्चीको पानी असारसम्ममा काठमाडौँमा झारिसक्ने प्रतिबद्धता भएपनि त्यसअनुसार काम भएको वा नभएको भनी समितिलाई जानकारी नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “आबश्यक भएमा निर्देशन पनि दिनुपर्छ ।”
समिति सदस्य लीलानाथ श्रेष्ठले समितिले दिएका धेरै निर्देशनको पालना नभएको, र समितिले बिगतमा हुलाकी राजमार्गमा एउटै मापदण्डको सडक निर्माण गर्न मन्त्रालयलाई निर्देशनलाई वेवास्ता नगर्न आग्रह गर्नुभयो ।
समितिका सदस्य गणेशकुमार पहाडीले मेलम्ची खानेपानी आयोजनाको प्रगतिका बारेमा सम्बन्धित समिति विकास समिति नै बेखवर रहेको औल्याउनुभयो । अहिले मेलम्चीको पानी काठमाडौँ ल्याउनु मात्रैभन्दा त्यो पानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाई छ ।
समितिकी सभापति कल्याणीकुमारी खड्काले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि असारे बजेट सक्ने गरी काम भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय गौरबका आयोजनामा रहेका समस्या हटाएर समयमै सम्पन्न गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “तयारी राम्रो नभए मेलम्चीको पानीले काठमाडौँमा बाढीको समस्या आउन सक्नेछ ।”
समितिलाई आज नै सवारी दुर्घटना न्युनिकरण अध्ययन उपसमितिले प्रतिबेदन बुझाएको छ । सार्वजनिक यातायात व्यवस्थित, सर्वसुलभ, सुरक्षित र भरपर्दो नुहनु, जीर्ण तथा पुराना हुनु, व्यवसायिक तथा तालिमप्राप्त सवारी चालक नहुनु, तीनको श्रम, समयसीमा नियमन गर्ने मापदण्ड नहुनु, संस्थागत क्षमता तथा प्रविधिमैत्री कार्यप्रणाली नहुनु र सवारीसाधनको नियमित र व्यवस्थित परीक्षण नहुनु सवारी दुर्घटना नहुनु दुर्घटना न्युनिकरणका प्रमुख समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।
समितिका सदस्य पहाडीको संयोजकत्वमा बनेको उपसमितिमा समितिका गौरीशंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार र रङ्गमती शाही रहनुभएको थियो । समितिको गत पुस ४ मा बसेको बैठकले उपसमिति गठनको निर्णय गरेको थियो ।
प्रकाशित मिति: ८ असार २०७७, सोमबार