फलामे डन्डीमा किला ठोकेर बनाइएको हतियारद्वारा भारतीय सेनामाथि आक्रमण गरेकाे खुलासा


 


काठमाडौँ । गत सोमबार भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ । गलवान उपत्यकामा भएको उक्त भिडन्तमा कम्तीमा २० भारतीय सैनिकहरूको ज्यान गएको थियो । त्यसपछि दुवै शक्ति राष्ट्रबीचको तनाव चुलिएको थियो ।

भिडन्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले केही स्वीकार गरेको छैन । त्यस क्षेत्रमा दुवै राष्ट्रबीचको सीमा रेखा पक्कासँग अंकन गरिएको छैन । स्थानीय भौगोलिक परिवर्तनसँगै त्यसमा पनि परिवर्तन हुने गरेको छ ।

बिहीबार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु हतियार देख्न सकिन्छ । उक्त तस्बिर भारत(चीन सीमामा तैनाथ भारतीय सेनाका एक वरिष्ठ अधिकारीले सार्वजनिक गरेका हुन् ।

उक्त तस्बिरलाई सर्वप्रथम इन्टरनेटको सामाजिक सञ्जाल ट्विटरमा राखेका एकजना प्रतिरक्षा विश्लेषक अजय शुक्लाले त्यस्तो प्रकारको हतियारको प्रयोगलाई बर्बर भनेका छन् । त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमतिमा छ । सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो ।

त्यसबारेमा भारत र चीन दुवै पक्षका अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन् । समाचारमा जनाइएअनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो । त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए ।

मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए । एजेन्सी

प्रकाशित मिति: ६ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्