राष्ट्रियसभाबाट पनि लिम्पियाधुरासहितको नक्सा सर्वसम्मत पारित


 


काठमाडौं, असार ४
संघीय संसदकाे राष्ट्रिय सभा माथिल्लाे सदनबाट पनि नक्सासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए ।

त्यसपछि मत सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । विधेयक पारित हुनु अघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए । राष्ट्रिय सभामा कुनै संशोधन परेको थिएन ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।

प्रकाशित मिति: ४ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्