सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : डा. शेखर कोइराला


 


विराटनगर, जेठ ३०
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । कांग्रेस नेतृ शैलजा आचार्यको ११औं स्मृृति दिवसका अवसरमा शैलजा आचार्य पोलिटेक्निकल इन्स्टिच्युटले विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा कोइरालाले सीमा विवाद वार्ताको माध्ययमबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल र भारत वीचको सीमा विवाद दुवै देश वार्तामा वसेर ऐतिहासिक प्रमाण र दस्तावेजका आधारमा छलफल र समझदारीबाटै टुंगो लगाउनु आवश्यक रहेको कोइरालाको भनाइ छ । सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गरेर वा अन्तर्राष्ट्रिय न्यायालय गुहारेर समाधान गर्न मुस्किल पर्ने कोइरालाको भनाइ छ । ‘कतैकतै अन्तर्राष्ट्रिय समुदाय गुहार्ने, अन्तर्राष्ट्रिय अदालत जाने भन्ने तर्क पनि सुनिन्छ,’ डा. कोइरालाले भने, ‘तर त्यसरी समस्या समाधान गर्न सजिलो हुनेछैन ।’

डा. कोइरालाले कोरोनालाई कारण देखाएर वर्तमान सरकार भ्रष्टाचारमा लिप्त हुन थालेको टिप्पणी गरे । कोइरालाले सरकारको रवैयाका कारण देश दलदलमा फसेको पनि बताए । उनले सरकार भ्रष्टाचारमा लिप्त हुँदै गए पनि अख्तियार र अदालत चुप लागेर बसेको आरोप पनि लगाए । कोइरालाले भने, ‘आफैंले नियुक्त गरेका आफूअनुकूलका पदाधिकारी अख्तियारमा भएकाले सरकारलाई भ्रष्टाचार गर्न सहज भइरहेको छ ।’

प्रधानमन्त्रीले संसद्मा दिएको स्पष्टीकरण जनताले चित्त नबुझाएको उनको भनाइ थियो । उनले भ्रष्टाचार गर्दै जाऔं, कोरोना नियन्त्रण गर्दै जाऔं भन्ने प्रधानमन्त्रीको आशय भएकाले भ्रष्टाचार अझै बढ्ने सम्भावना भएको बताए । उनले भ्रष्टाचार ढाकछोप गर्नेकै लागि सेनालाई मेडिकल सामग्री खरिद गर्न दिइएको दाबी पनि गरे । नागरिक दैनिकबाट

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्