नेपाली क्रिकेटका यी पाँच दुर्लभ रेकर्ड


 


काठमाडौँ , जेठ २६

सन् १९९६ मा एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला अघि बढाएको नेपाली क्रिकेट टोलीले हालसम्म टी–२० विश्पकप हुँदै वान डे मान्यतासम्म आइपुगेको छ ।

खेलाडीको दिन–रातको अथक मिहेनत, सिमित स्रोत र साधनकाबीच विभिन्न बाधा(अवरोध पार गर्दै ती सफलता हात परेका हुन् । अहिले जुन स्तरमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ,वास्तवमा त्यो भन्दा धेरै माथिल्लो स्तरमा खेल्न सक्ने सम्भावना पनि देखिन्छ । खेलाडीको एक्लो प्रयास वान डे मान्यतासम्मआएको टोली अहिले नै माथि जान सक्ने अवस्था भने छैन ।

नेपाली क्रिकेट टिमको अबको सपना सन् २०२० को टी–२० विश्वकप तथा २०२२ को वान डे विश्वकप खेल्दै ८–१० वर्ष भित्रमा टेस्ट मान्यताप्राप्त राष्ट्र बन्नु हो । तर टेस्ट मान्यता पाउन त्यहि सहज भने छैन । अहिलेको जुन घरेलु संरचनाले रहेको छ त्यसले टेस्ट राष्ट्र बन्ने सपना कल्पनामै सिमित राख्नेछ । टेस्ट मान्यता प्राप्त गर्ने नै हो भने अहिलेदेखिनै क्रिकेट विकासमा निस्वार्थ भावना लिएर सबै अघि बढ्नुपर्छ । खेलाडी खेलेर मात्र सधै सफलता हात लाग्दैन । संघ र त्यसको व्यवस्थापनका साथसाथै घरेलु क्रिकेटको संरचना पनि त्यहि अनुसारको हुनुपर्छ ।

दुई दशक बढीको अन्तर्राष्ट्रिय क्रिकेट अवधिमा नेपालले केहि ठूला सफलता हात पार्दा त्यो भन्दा बढी अवसर गुमाएको पनि छ । यो अवधिमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै रेकर्ड पनि बनाएको छ । केहि रेकर्ड खेलाडीको नाममा रहँदा केहि टिमकै नाममा बने । केहि रेकर्ड त यस्ता बने जुन अब तोडिन पनि असम्भव देखिन्छ । यी हुन् नेपालले विश्व क्रिकेटमा बनाएका दुर्लभ ५ विश्व रेकर्ड –

२ बलमै जित

सुन्दापनि सबैलाई आश्चर्य लाग्न सक्छ । ५० ओभरको खेल, ११ रनको लक्ष्य अनि २ बलमै विजयी । नेपालले सन् २००६ मा यो कीर्तिमान म्यानमारविरुद्ध रचेको हो । मलेसियामा भएको एसीसी ट्रफिमा नेपालले यो दुर्लभ कीर्तिमान हात पार्न सफल रहयो । टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लियो । म्यानमार ब्याटिङको लागि मैदान उत्रियो । महबुब आलम ७ र बिनोद दासले ३ विकेट लिएपछि म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भयो ।

सामान्य ११ रनको लक्ष्य नेपालले दुई बलमै पुरा गर्यो । ५ रन एक्स्ट्रास्वरुप उपहार पाएपछि २ बलमै नेपालको जित सम्भव भयो । ओपनर महेश क्षेत्री र धिरेन्द्र चन्दले समान १–१ बलमा ३–३ रनमा नटआउट रहे । जुन रेकर्ड १२ वर्ष देखी यथावत छ । र अब तोडिन पनि असम्भवप्राय छ ।

महबुव आलमको एकै खेलमा १० विकेट

सन् २००८ मा जर्सिमा डिभिजन ५ लिग चलिरहेको थियो । मोजाम्बिकबीरुद्ध टस हारेर नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३८ रन जोड्यो । २ सय ३९ रनको लक्ष्य पक्ष्याएको मोजाम्बिक १४।५ ओभरमा सबै विकेट गुमाएर १९ रनमा समेटियो । महबुबले ७।५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिए । उनले त्यसबेला ५ ब्याटम्यान बोल्ड,४ एलबीडब्लू र १ क्याच आउटको सिकार बनाए । महबुब सिमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम पनि लेखाए ।

मोजाम्बिकका दुई ब्याट्सम्यानले मात्र खाता खोल्न सक्दा ९ खेलाडी डक आउट भएका थिए । पछिल्लो समय ढल्कँदो उमेरसँगै खस्किदो प्रर्दशनका कारण महबुब सन्यासको संघारमा पुगेका छन् । तर यो रेकर्डले महबुवलाई विश्व क्रिकेट जगत र नेपालले सधैँभरी सम्झिरहने छ । सिमित ओभरको खेलमा यो रेकर्ड तोडिन पनि अब असम्भव देखिन्छ ।

१० औं नम्बरमा सोमपालको ४० रन

सन् २०१४ मा नेपाल र हङकङबीच टी–२० सिरिज श्रीलंकामा चलिरहेको थियो । चौथो खेलमा हङकङले टस जित्यो र नेपाललाई पहिलो ब्याटिङको निम्तो दियो । सधैं ब्याटिङमा कमजोर मानिने नेपाल १२।५ ओभरमा वसन्त रेग्मी ३ रनमा पेभिलिएन फर्कंदा २५(८ को दयनिय अवस्थामा पुगेको थियो । नेपालले ५० रन पनि कटाउन नसक्ने अनुमान समर्थकहरुको थियो । नेपालको नाजुक प्रदर्शन हेर्दा त्यसो गर्नु स्वभाविक पनि थियो । वसन्त आउट भएसँगै शक्ति गौचन,सोमपाल कामी र अमृत भट्टराईको विकेट हातमा थियो । तीनै जना बलर थिए ।

त्यसवर्षदेखि नै राष्ट्रिय टिममा देखा परेका सोमपाल कामीले उक्त खेलमा चमत्कारपूर्ण ब्याटिङ गरे । सोमपाल क्रिजमा आउनु अघि शक्ति १० बलको सामना गर्दा खाता खोल्न सकेका थिएनन् । सोमपालले शक्तिसँग मिलेर १८।५ बल सम्म ४३ रनको साझेदारी गर्दै स्कोर ६८(८ को अवस्थामा पुर्याए । जुन स्कोर कोलोम्बोको पिचमा प्रतिस्पर्धा गर्न योग्य मानिन्थ्यो । सोमपालले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएको अवस्थामा १९ औं ओभरको अन्तिम बलमा आउट हुन पुगे ।

आउट भएपनि सोमपालले आफ्नो नाममा विश्व रेकर्ड लेखाए । अहिलेसम्म टी–२० क्रिकेटमा १० औं नम्बरमा आएर ४० रन बनाउने सोमपाल कामी एक्लो ब्याट्सम्यान हुन् । उक्त खेलमा भने हङकङ २ विकेटले विजयी भयो । निकै प्रतिस्पर्धात्मक खेलमा हङकङले १ बल बाँकी छदाँ संघर्षपूर्ण जित निकालेको थियो ।

रुविनाको एकै ओभरमा ५ विकेट

सन् २००९ मा मलेसियामा एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेट चलि रहेको थियो । नेपालले सिंगापुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ७९ रन जोड्यो । जवाफी ८० रनको लक्ष्य पक्ष्याएको सिंगापुरको नाटकीय विकेट पतन भयो । कप्तान रुविना क्षेत्रीले मलेसियाको पिचमा कमालको प्रदर्शन गरिन् ।

रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिएपछि हारको मुखमा पुगेको नेपालले खेल बराबरीमा रोक्न सफल रहयो । रुविनाले दोस्रो, तेस्रो,चौथो,पाँचौ र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् । उक्त प्रदर्शनसँगै रुविना पहिलो पटक ह्याट्रिक गर्ने नेपाली महिला खेलाडी समेत बनिन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने पहिलो महिला क्रिकेटरको रेकर्ड समेत आफ्नो नाममा लेखाइन् । जुन रेकर्ड अब महिला क्रिकेटमा तोडिन असम्भव छ ।

टी–२० विश्वकपमा नो वाइड

नेपाली क्रिकेट जगतमा सबैभन्दा ठूलो सफलता सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप खेल्नुलाई मानिन्छ । पहिलो पटक विश्वकप खेल्दाको त्यो क्षण, त्यो खुसि र उत्साह शब्दमा वर्णन गर्न सकिन्न । जति शब्दमा व्याख्या विश्लेषण गरेपनि कमनै हुनेछ । नेपाली टोलीको सधै बलियो मानिने हतियार बलिङ पक्ष विश्वकपमा विश्वसामु अझ बलियो ठहरियो ।

पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै विश्वकपमा नेपालले सानदार सुरुवात गर्यो । हङकङलाई ६९ रनमा अल आउट गर्दा कुनै वाइड फालेन । नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो । तर वाइडमा रन भने दिएन । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दै विश्व क्रिकेट जगतमा पुन एक पटक तहल्का पिट्यो । उक्त खेललमा पनि वाइडको रुपमा कुनै रन दिएन । जुन एउटा विश्व रेकर्ड बन्यो । (हाम्रो खेलकुद डटकम बाट)

प्रकाशित मिति: २६ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्