नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौँ, जेठ २५
सत्तारुढ दल नेकपाको सचिवालय बैठक सोमबार ४ बजेलाई बोलाइएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बैठक सोमबार बोलाइएको सचिवालयका एक सदस्यले बताए ।
पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।
एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।
प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार