रुसले कोरोनाविरुद्धको औषधि प्रयोगमा ल्याउँदै, चार दिन भित्र निको पार्ने दाबी
एजेन्सी
रुसले आगामी हप्तादेखी कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा ल्याउँदै छ। ११ जूनदेखि संक्रमितहरुलाई दिइने भनिएको यो एन्टिभाइरस औषधि रुसको स्वास्थ्यमन्त्रालयले अस्पतालमा रहेका सक्रमितलाई दिनका लागि स्वीकृति दिइसकेको छ।
एभिफ्याभिर नामको यो औषधि कोरोना भाइरसविरुद्ध सफल रहेको रुसी अधिकारीहरुको दाबी छ। रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ)का प्रमुख किरिल दिमित्रेभले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यसको जानकारी दिएका हुन्।
दिमित्रेभका अनुसार औषधि निर्माता कम्पनीले कोभिड– १९ विरुद्धको भनिएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गरिसक्ने छ।
परीक्षणकै क्रममा रहेका केही यस्ता औषधिले आशा जगाए पनि ती औषधि विरामीलाई खुवाउनका लागि संबन्धित निकायबाट अझै स्वीकृति मिलिसकेको छैन ।
एभिफ्याभिर औषधि १९९० को दशकको अन्ततिर एक जापानी कम्पनीले विकसित गरेको थियो। आरडीआईएफका प्रमुख दिमित्रेभका अनुसार रुसका वैज्ञानिकले यो औषधिलाई परिस्कृत गरेर धेरै प्रभावकारी बनाएका छन्।
रुसमा ३० मेमा यो औषधिलाई स्वीकृत औषधिको सूचीमा राखिएको छ। दिमित्रेभका अनुसार ३३० व्यक्तिमा परीक्षण गरिएको यो औषधिले संक्रमितलाई चार दिनमै कोरोनाबाट छुटकारा दिलाएको थियो। यो परिणाम आएलगत्तै रुसले पूर्व निर्धारित समय अगावै औषधिलाई प्रमाणित गरेको हो।
सामान्यतया यस्ता औषधिको क्लिनिकल ट्रयालमा महिनौं लाग्ने गर्छ। यो अवधिमा औषधि नियन्त्रित तरिकाले ठूलो संख्याका विरामीमा परीक्षण गरिन्छ। विरामीमा औषधिको राम्रो वा नराम्रो कस्तो प्रभाव पर्छ भन्ने कुराको गहन अध्ययन गरेर सन्तुष्ट भएपछि मात्रै औषधि आम उपयोगका लागि स्वीकृति दिइन्छ।
प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार