बजेटमा एमसीसी परेपछि प्रचण्डकाे आपत्ति, बाेलाइयाे सचिवालय बैठक


 


काठमाडौं, जेठ, १७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटवार्ता लगत्तै थप छलफल गर्न शनिबार विहान ९ बजे सचिवालय बैठक समेत बोलाइएको छ ।

सरकारले बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको थियो । बजेटमा लप्सीफेदी-रातामाटे- हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख छ र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी भनिएको छैन । तर ठूलो रकम विनियोजन गरेकाले एमसीसीलाई नै अगाडि बढाउन खोजेको देखिन्छ । सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने भनेको थियो ।

लगतै नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आपत्ति जनाएका थिए । आफूहरुको कार्यदलले परिमार्जन नगरी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको भन्दै दुवैले पार्टीमा छलफल नगरी एमसीसी सम्झौता अगाडि नबढाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्