काठमाडौंको बालाजु माछापोखरी क्षेत्रमा आरडिटी परीक्षण, १५ जनाकाे रिपाेर्ट पोजेटिभ


 


काठमाडौं, जेठ ५
काठमाडौंको बालाजुस्थित माछापोखरी तरकारी बजारमा गरिएको कोरोना परीक्षणका क्रममा १५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

आइतवार तरकारी बजार तथा नयाँ बसपार्क क्षेत्रका ४२० जनाको आरडिटी परीक्षण तथा १ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने क्षेत्रका नागरिक तथा सुरक्षाकर्मीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आरडिटीमा पोजेटिभ देखिएकाको स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको कामनपा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

अहिले आरडिटीमा कोरोना पोजेटिभ देखिएपनि पिसिआर रिपोर्ट नआउन्जेल कसैलाई पनि संक्रमित भन्न नमिल्ने रिजालको भनाइ छ । यसअघि काठमाडौं महानगरका ३१ जना कर्मचारीको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नभएको आएको थियो । बसपार्क क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आसपास क्षेत्रमा परीक्षणलाई तीब्र पारिएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्