बन्द, हडतालमुक्त क्षेत्र बनाइने : मन्त्री जोशी


 


nabindra-joshi

भक्तपुर,  असोज ७ उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताउनुभयो ।

लगानीमैत्री वातावरण नहँुदा पुँजी र मानवस्रोत पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना माग राख्न पाउने तर बन्द हडताल गर्न नपाउने गरी नीतिनियम एवम् कार्यविधि ल्याउन लागिएको बताउनुभयो । “सबै मन्त्रालयको उद्योग व्यवसायसँग सम्बन्धित काम उद्योग मन्त्रालयले मात्रै गर्ने गरी अन्य मन्त्रालयसँग छलफल अगाडि बढाइएको छ,” उहाँले भन्नुभयो– “यसका लागि मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी भइरहेको छ ।”

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न अग्रसर रहेको मन्त्री जोशीको भनाइ छ । उद्योग व्यवसायको विकासले मात्र राष्ट्रले कोल्टे फेर्नेर संविधान निर्माण र कार्यान्वयनपछि अव आर्थिक समृद्घि नै देशको मूल बाटो भएको मन्त्री जोशीले बताउनुभयो ।

विद्यमान सरकारी साधनस्रोतको अधिकतम उपयोग गरी जनताको हितमा काम गर्ने सोच अनुरुप सरकारले बन्द उद्योग पुन ःसञ्चालन अभियान चलाएको उहाँले बताउनुभयो । मन्त्रालयले चार वर्षे मध्यावधि योजना र २० वर्षभित्र देशमा औद्योगिक क्षेत्रको कस्तो मार्गचित्र हुनसक्छ भन्ने खाका ल्याउने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष भवानी राणाले संविधान बनेको एक वर्ष बित्दा पनि अझै राजनीतिक सङ्क्रमणमै मुलुक अल्झिरहेको र आर्थिक विकासमा लाग्न ढिलाइ भएको बताउनुभयो । उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवालले भूकम्प प्रभावित युवायुवतीको आर्थिक सवलीकरणका लागि सीपमूलक तालिम सञ्चालनको तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री जोशीले भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्