‘नेपालले अन्य मुलककाे इशारामा लिपुलेकको मुद्दा उचाल्यो’


 


काठमाडौं, जेठ २
लिपुलेक, कालापानी क्षेत्र अतिक्रमण गरी भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै सडकदेखि सदनमा बहस भइरहेकाे बेला भारतका सेना प्रमुख मनोज नरभानेले त्यस विषयमा विवादस्पद अभिब्यक्ति दिएका छन्।

नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको उनले आरोप लगाए। उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै खनेको दाबी गर्दै अन्य मुलुककाे इशारामा नेपाल चलेकाे दाेहर्याए।

शुक्रबार एक कार्यक्रममा बोल्दै उनले भने,’भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद छैन, अहिले यो विवाद निस्किनुमा नेपाललाई कसैले उचालेको हुन सक्छ।’
यद्यपि कार्यक्रममा उनले तेस्रो मुलुकको नाम भने लिएनन् ।

भारतीय सेना प्रमुख नरभानेले शुक्रबार नेपालले आफ्नो भूभाग महाकाली नदीको पूर्वतर्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको दाबी गरेका छन् । यस्तोमा विवाद निकाल्नुपर्ने कुनै पनि कुनै कारण नरहेको उनको भनाइ छ । नेपालले यो विषय कसैको इशारामा उचालेको हुन सक्ने सम्भावना ठूलो रहेको उनले दाबी गरे ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । नेपाली भूमिमा बाटो निर्माण गरेसँगै नेपालले आपत्ति प्रकट गरे पनि भारतले भने सडक आफ्नै भूमिमा बनेको भन्दै दाबी गर्दै आएको छ । स्रोतः द हिन्दू

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्