कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि


 


काठमाडौं, बैशाख ३१
अमेरिकामा कोरोनाभाइरस संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि समेत प्रयोग गरिएको खुलासा भएकाे छ । संक्रमितको रगत बाक्लो हुँदै डल्लो नै परेको पाइएपछि चिकित्सकहरुले रगत पातलो बनाउने औषधि पनि प्रयोग गरेको पाइएको छ ।

चिकित्सकहरूका अनुसार रगत पातलो बनाउने औषधि सामान्यतया हृदयघात भएपछि ‘प्राइमरी एन्जियोष्लाष्टि’ हुन नसक्ने अवस्थामा मुटुसम्म रगत पास गर्न चलाइने गरिएकोमा त्यहाँ कोरोनाको उपचारमा पनि रगत पातलो बनाउने औषधि प्रयोग गरिएको खुलेको हो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीको प्रतिवेदनमा कोरोनाका गम्भीर रोगीको शरीरमा रगतको डल्ला बनिरहेको र त्यसले ज्यान लिने गरेपछि रगत पातलो बनाउने औषधि चलाइएको उल्लेख छ । उक्त औषधि चलाइएपछि आधा जस्तो संक्रमित मृत्यु हुनबाट जोगिएका छन् ।

माउन्ट सिनाई कार्डियोभास्कुलर इन्स्टिच्युटका प्रमुख डाक्टर भ्यालेन्टाइन फोस्टरका अनुसार रगत पातलो बनाउने औषधि दिँदा मर्नेको संख्या घटेर आधा भएको छ । अमेरिकाको एटलान्टा राज्यको एमोरी युनिभर्सिटी हेल्थ सिस्टमअन्तर्गतका १० अस्पतालमा भर्ना भएका मानिस रगतमा डल्लो परेर मरेको पाइएको बताइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ । एजेन्सी

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्