कुहिएको चामल दिने आपूर्तिकर्तालाई दुई लाख रुपैयाँ जरिवाना
धनगढी, वैशाख ३०
धनगढी उपमहानगरपालिकालाई राहतमा कुहिएको चामल दिने धनगढीको एक आपूर्तिकर्तालाई जरिवाना गरिएको छ । उपमहानगरपालिकालाई राहतको चामल दिने धनगढीको ठाकुर ट्रेड लिङ्कलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
धनगढी उपमहानगरपालिकाले खरिद गरि वितरणका लागि विभिन्न वडामा पठाएको राहतको चामल कुहिएको भेटिएको थियो । चामल कुहिएको भन्दै पीडितहरुले गुनासो गरेपछि उपमहानगरपालिकाको पहलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले अनुसन्धान गरेको थियो ।
गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी दीपक कुँवरले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेवाफत दुई लाख रुपैयाँ जरिवाना गरिएको बताए । साथै सो आपूर्ति गरेको वस्तु वितरण नगर्ने गरि रोक्का गरिएको कुँवरले जानकारी दिए । उनकाअनुसार आपूर्तिकर्ताको गोदाममा मौज्दात चामल पनि कुहिएको भेटिएको थियो ।
धनगढी उपमहानगरपालिकाले दुई करोड ६१ लाख तीन हजार रुपैयाँमा तीन सय क्वीन्टल चामल, आठ सय क्वीन्टल दाललगायतका खाद्य सामग्री खरिद गरेको थियो । जसका लागि उपमहानगरपालिकाले ठाकुर ट्रेड लिंङ्कसंग सम्झौता गरेको थियो ।
प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार