प्रमको भारत भ्रमणमा भएको सहमति देशहित विपरीतः अध्यक्ष वैद्य


 


Mohan-Baidya

काठमाडौँ, असोज ५ नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष वैद्यले भारतलाई संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका लागि सहयोग गर्ने, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतलाई कार्यान्वयन गर्ने सहमति देशहित विपरीत रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा भारतसँग भएका सम्पूर्ण सन्धि, सम्झौता खारेज गरेर नयाँ आधारमा नयाँ सम्झौता गर्नुपर्नेमा पुराना सन्धि, सम्झौतालाई कार्यान्वयनमा लैजाने सम्झौता गरेर आउनु दुर्भाग्यपूर्ण हो ।”

आफ्नो पार्टीले संविधानलाई अस्वीकार गरेको र आफूहरुमात्रै वास्तविक रुपमा प्रतिपक्षी पार्टी भएको उहाँको जिकिर थियो । माओवादी लडाकुको शिविरमा भएको अनियमितताबारे आफूहरुलाई थाहा नभएको वैद्यको भनाइ थियो । उहाँले भन्नुभयो, “शिविरको रकमबारे हामीलाई थाहा छैन, हामी नेतृत्वमा नभएकाले त्यो विषय माओवादी केन्द्रलाई नै बढी थाहा छ ।”

माओवादी केन्द्रले संसद्वादलाई स्वीकार गरेको र आफूहरुले त्यसलाई स्वीकार गर्न नसकेकै कारण पार्टी एकता हुन नसकेको उहाँको प्रष्टोक्ति थियो । उहाँले भन्नुभयो, “पार्टी एकताको लागि मैलेपनि धेरै प्रयास गरेको हो, तर विचार र सिद्धान्तमा कुरा नमिलेपछि एकता हुन सकेन ।”

भविष्यमा माओवादी केन्द्रसँग एकताको सम्भावना अझै रहेको स्वीकार गर्दै उहाँले तत्कालै सो पार्टीसँग एकताको सम्भावना नरहेको बताउनुभयो ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्