ओलीको पक्षमा खुल्दै बिष्णु पौडेलले भने- ‘उहाँले दुवै पद छाड्नु हुँदैन’


 


काठमाडौं, बैशाख २०
सचिवालय बैठक अपराह्न ४ बजे तोकिएको भए पनि पुनः ५.३० बजेलाई सारिएको छ । अध्यादेश प्रकरणपछि नेकपाभित्र आन्तरिक द्धन्द्ध यति बढेको छ कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको नेतृत्व र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब परेको छ ।

उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दैछ। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले गौतमलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयनको योजना बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई दबावसहितकाे सुझाव दिएका छन्।

यस दबाबका बीच नेकपाका महासचिव बिष्णु पौडेल ओलीका पक्षमा खुलेर आएका छन् । उनले एक अनलाइनलाई दिएको अन्तर्वार्तामा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने बताएका छन् । बिष्णु पौडेल नेकपाभित्र चाणक्यका रुपमा चिनिन्छन् । उनले उपाध्यक्ष वामदेव गौतमलाई कन्भिन्स गरेरमात्र आफ्नो अन्तर्वार्ता सार्वजनिक गरेको अर्थ नेकपा बृत्तमा लगाइएको छ । भैसेपाटी गठबन्धनमा भेला भएका पौडेल खुलेर ओलीको पक्षमा देखिएपछि नेकपाभित्रको राजनीतिले नयाँ मोड लिएको हो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, उपाध्यक्ष गौतमसहितका सचिवालय सदस्यहरु प्रधानमन्त्री ओलीको राजीनामा मागबाट टसको मस नभएको भनिरहेका छन् । तर महासचिव पौडेलले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने कुरामा विश्वस्त बनाएपछि ओलीले तत्काल दुवै पदबाट नछोड्ने कुरा सार्वजनिक गरेको चर्चा भइसकेको छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव बुधबार सचिवालय बैठकमा गरेका थिए।

प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभाको सदस्यसम्म बनाउन नमानेपछि नेकपाभित्र विवाद सुरु भई अध्यादेश प्रकरणपछि बिष्फोट भएको थियो । तर प्रधानमन्त्री ओलीका निकट नेताहरु वामदेव गौतमलाई अब विगतमा जस्तो धोका नहुने ग्यारेन्टीका साथ फकाउन सक्रिय छन् ।

धादिङ, पाल्पा, बाँके लगायत कुनै पनि सुरक्षित क्षेत्रबाट गौतमलाई चुनाव लडाएर भए पनि प्रधानमन्त्री बनाउने ग्यारेन्टी गर्ने बचन दिएको स्रोतले बताएको छ । ओलीलाई अध्यक्षदेखि २ पटक प्रधानमन्त्री बनाए पनि गौतमलाई पटक पटक धोका दिएकोमा उनको चित्तदुखाई रहँदैआएको छ । तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए ।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्