आज नेकपाकाे सचिवालय बैठक बस्दै


 


काठमाडौं, बैशाख २०
अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको बैठकमा जोड दिनेछन् भने ओली समूहले त्यसको प्रतिवाद गर्ने तयारी गरेको छ ।

त्यसका लागि दुबै पक्षले आन्तरिक छलफलसहितका तयारी तीव्र पारेका छन् । विवाद मिलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री ओलीले शुक्रबार पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । सो भेटघाटलगत्तै प्रचण्डले माधव कुमार नेपालसँग पनि भेटघाट गरेपछि प्रचण्डसँग सहमति नभएको अड्कलवाजी भएको छ ।

बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए । प्रधानमन्त्री केपी ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो । त्यसैगरी हिजो र अस्ति नेकपाभित्र घनीभूत भेट र संवाद भएका छन् । हिजो र अस्ति नेपाल कम्युनिस्ट पाटीभित्र राजनीतिक सक्रियता निकै बढेको थियो ।

नेताहरुको आपसी भेटघाट र संवादमात्र नभई चिनियाँ राजदूत होउ यान्छीले पनि नेकपा नेताहरुसंग भेटघाट तिव्र पार्नुभयो । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टी्भित्र विवाद र गुटबन्दी चर्केको हो । बैठक अपरान्ह ४ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक वस्ने छ ।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्