नेकपा विवाद उत्कर्षमा, दुवै समूह हस्ताक्षर अभियानमा


 


काठमाडौं, बैशाख १७

सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेको छ । अध्यादेश प्रकरणपछि सत्तारुढ नेकपाभित्र चुलिएको विवाद सांसद तानातानको विन्दुसम्म आइपुगेको छ ।

यतिबेला दुवै पक्ष हस्ताक्षर संकलनमा जुटेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पद टिकाउन संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा छन् । नेकपाका जम्मा १ सय ७४ सांसदमध्ये संसदीय दलमा बहुमतका लागि ८७ जना सांसद आवश्यक पर्छ। ओलीनिकट ७८, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट ५३ र माधवकुमार नेपालनिकट ४३ सांसद छन्।

त्यसैले प्रचण्ड–नेपाल गठबन्धनका केही सांसद आफ्नो पक्षमा तानेर संसदीय दलमा बहुमत सिद्ध गर्ने प्रयासमा प्रधानमन्त्री ओली छन्।

ओलीले सोमबार, मंगलबार र बुधबार सांसदहरुलाई बालुवाटारमा बोलाएर आफ्नो पक्षमा माहोल बनाउन र जुनसुकै परिस्थितिको लागि तयार रहन निर्देशन दिएका थिए। उनले सांसदहरुको हस्ताक्षर समेत संकलन गरेका छन्।

प्रचण्ड–नेपाल गठबन्धनका केही सांसदहरु ओलीको पक्षमा लागेको चर्चा पनि चलेको थियो।

तर, प्रचण्ड–नेपाल गठबन्धनका सांसदहरु एक ढिक्का रहेको नेपालनिकट एक नेताले दाबी गरे। आफूहरुसँग रहेका ९६ जना सांसदमध्ये कोही पनि दायाँबायाँ नलागेको उनले बताए।

‘भैँसेपाटी गठबन्धनका सबै सांसद एकढिक्का हुनुहुन्छ,’ ती नेताले भने, ‘केही साथीहरुलाई यताउता पार्न खोजिएको भन्ने छ। तर, उहाँहरुले अन्तिममा गठबन्धनमा खुल्छौं भनेर हामीलाई स्पष्ट पार्नुभएको छ। कोही पनि दायाँबायाँ लाग्नुभएको छैन।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यको पक्षमा ९६ सांसद रहेको उनले बताए।

तर, गठबन्धनमै रहेका भनिएका उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले सार्वजनिक रुपमै सरकार ढाल्न उचित नहुने बताएका छन्।

प्रकाशित मिति: १७ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्