भारतद्वारा चीनबाट किन्न लागेको ५ लाख किटको अर्डर रद्द


 


काठमाडौं, बैशाख १६
भारतले चीनबाट ल्याउने तयारी भएको करिब पाँच लाख र्‍यापिड डाइग्नोष्टिक परीक्षण किट्स (आरडिटी) को अर्डर रद्द गर्ने निर्णय गरेको छ। अनुगमनको क्रममा उक्त किट्स त्रुटिपूर्ण रहेको पाइएसँगै भारतले अर्डर रोक्ने निर्णय गरेको हो। साथै भारतले अहिले प्रयोग भइरहेका किट पनि फिर्ता गर्ने निर्णय गरेको छ।

भारतको आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले वन्डफो ब्राण्डका आरडीटी परीक्षणको नतिजा विश्वसनीय नभएको भन्दै प्रयोगमा रोक लगाउने निर्णय गरेको हो। आईसीएमआरको निर्णयपछि भारतले नयाँ किन्न लागेको किट रद्द र पुरानो फिर्ता गर्ने निर्णय गरेको हो।

आरडिटी किट्सको रिजल्ट गलत आएपछि आईसीएमआरले सोमबार भारतका सबै प्रदेशमा पत्र पठाउँदै आरिडिटी कीटको प्रयोग बन्द गर्न भनेको छ। आईसीएमआरले आरटी पिसिआर प्रविधिबाट थ्रोट स्वाबको परीक्षण नै संक्रमति पत्ता लगाउने उत्तम उपाय भएको भन्दै आरटिडी परीक्षण बन्द गर्न पत्राचार गरेको हो।

भारतको केही राज्यमा किटले केबल पाँच प्रतिशत सही नतिजा दिने गरेको गुनासो आएको थियो। पुष्टि भइसकेका कोरोना भाइरसका बिरामीमा पनि यसले नेगेटिभ देखाएपछि यसबारे बहस सुरु भएको थियो।त्यसपछि आईसीएमआरले गरेको अनुगमनमा उक्त किट्स गुणस्तरीय नरहेको पाइएको थियो।

सोमबार दिल्ली अदालतले भारतले किट्स खरिदको लागि वास्तविकभन्दा महँगो मूल्य तिरेको बताएको थियो। यससँगै यो मुद्दा थप जटिल बनेको थियो। यद्यपि भारतीय अधिकारीले भने अहिले गरिएको अर्डरको पैसा भुक्तान नगरिएको र अर्डर रद्द गरिएकाले नोक्सानी नहुने बताएका छन्।

गुणस्तरीय किट उपलब्ध गराउने आश्वासन दिईएपनि दुई चिनियाँ कम्पनीहरुद्वारा आपूर्ति गरिएको किटहरुको प्रभावकारितामा “व्यापक भिन्नता” पाइएको छ I त्यसकारण सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुको मुख्य सचिवहरुसँगको कुराकानीमा आईसीएमआरले ती किट्सको प्रयोग रोक्न सुझाब दिएको हो ।

आईसीएमआरले पीसीआर बिधिद्वारा घाटी/नाकको स्वाब परीक्षण नै कोभिड -१९ को परिक्षणको लागि उत्तम रहेको बताएको छ। चीनले भने भारतको दाबीलाई अस्वीकार गरेको छ। चीनले भारत पठाइएको किट्सको गुणस्तरमा कुनै समस्या नभएको जिकिर गरेको छ। भारतले पूर्वाग्रह राखेर आफ्नो किट्सलाई त्रुटिपूर्ण भनेको भन्दै चीनले आफ्नो बचाउ गरेको छ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्