‘सरकार ढाल्ने खेल किमार्थ स्वीकार्य हुने छैन’


 


काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले समाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा लेख्दै सरकार ढाल्ने खेल स्वीकार्य नहुने चेतावनी दिएकी छन्।

पछिल्लाे राजनीतिक घटनाक्रम तथा अध्यादेश प्रकरणपछि नेकपाभित्र असन्तुष्ट (प्रचण्ड र नेपाल) समूहले प्रधानमन्त्री ओलीविरुद्ध गुट चलाएका बेला सचेतक चौधरीले सरकार ढाल्ने खेल नखेल्न नेताहरूलाइ सचेत गराएकी हुन्।

सांसद चौधरीले हस्ताक्षर अभियानको विरोधमा उत्रिएका पूर्वमाओवादी समूहका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ शर्माको प्रशंसा गरेकी छिन्।

‘पदको कुनै पर्वाह छैन। सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि हैन। भुइँमा बस्न तयार छौं, एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं,’ उनले भनेकी छिन्, ‘सरकार ढलाउने खेल जहाँबाट खेलिएको भए पनि किमार्थ स्वीकार्य हुने छैन।’

नेकपाभित्र तीव्र ध्रुवीकरण भइरहेका बेला नेताहरुका विभिन्न प्रतिक्रिया आएका छन्।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्