भारतमा कोरोनाले पछिल्लो २४ घण्टामा ६२ जनाको मृत्यु


 


काठमाडौं, बैशाख १६
कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा पछिल्लो २४ घण्टामा मात्र थप ६२ जनाको मृत्यु भएको छ । अब भारतमा मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ ।अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या पनि एक हजार ६ सयभन्दा धेरै बढेको हो ।

भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म महाराष्ट्रमा तीन सय ६९ जनाको मृत्यु भइसकेको छ भने आठ हजार पाँच सय ९० जना संक्रमित छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ६२ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय १० जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार नौ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा तीन सय ४५ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ६ हजार आठ सय ६९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यदि लकडाउन नगरेको भए वा कोरोना संक्रमितको सुरुकै वृद्धिदर कायम रहेको भए अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्ने भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । त्यस्तै मे महिनाको अन्त्यसम्म संक्रमितको संख्या २ लाख ५० हजार पुग्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्