‘लकडाउन त निश्चित रुपमा लम्बिन्छ’


 


पोखरा, बैशाख १३
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउनको स्वरुप परिवर्तनको गृहकार्य गरिरहेको जानकारी दिएका छन् ।उनले भने, ‘लकडाउन त निश्चित रुपमै लम्बिन्छ’, उनले भने, ‘तर मोड्यालिटी फरक हुनुपर्छ ।’ उनले शनिबार बिहान आफ्नै कार्यालय प्रांगणमा पत्रकारलाई यो जानकारी दिएका हुन् ।

उनले भारतमा कोभिड १९ भाइरस फैलिरहेको हुँदा पनि लकडाउन लम्बिने प्रष्ट्याए । निर्माण र उत्पादनको क्षेत्र सञ्चालनका लागि भने आफ्नो सरकारले गृहकार्य गरेको उनले जनाए । ‘सीमामा कडाइ गरेर आन्तरिक रुपमा खुकुलो पार्ने हो कि भन्ने मनस्थितिमा हामी पुगेका छौं’, उनले भने, ‘मान्छे आवतजावतचाहिँ नगरौं, तर गाउँघरमा खेतीपाती गर्न बन्द नगरौं, निर्माण बन्द नगरौं ।’ सरकारी योजना र ठूलाठूला निजी योजनाको निर्माण सुचारु गरी सुरुआत गर्न सकिने उनले सुनाए । भारतमा कोभिड १९ फैलिरहेको हुँदा सीमा भने कडा हुनुपर्ने उनको भनाइ छ।

गण्डकी प्रदेशमा विदेशबाट आएका सबै ४५ सय जनाको आरडीटी परीक्षण सकिएको जानकारी मुख्यमन्त्री गुरुङले दिए । उनले भने, ‘बागलुङका संक्रमित २ जना पनि निको भएपछि हाम्रो प्रदेशका सबै ११ जिल्ला अहिले ग्रिनजोनमा छन् ।’ निर्माण सामग्री कसरी ओसारपसार गर्ने भनेर आचारसंहिता तयार गरिरहेको जानकारी पनि उनले दिए ।

निर्माण क्षेत्रमा काम गर्नेहरु निर्माणस्थलमै बस्ने र बाहिरबाट आउन जान नदिने गरी काम सुचारु गर्न सकिने मुख्यमन्त्रीको भनाइ छ । भारतबाटै सामान ल्याउनुपर्ने भए सीमामा चालक र गाडी स्यानिटाइज गरी मात्रै आउन दिनुपर्ने उनले बताए । गण्डकीमा कोभिड १९ परीक्षणका लागि आवश्यक मेडिकल किट ३७ हजार माग गरिएको पूरा नआएको मुख्यमन्त्रीले सुनाए ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्