अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो


 


काठमाडौं, बैशाख १३
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने कुल मृतक संख्या ५१ हजार १७ पुगेको छ ।

अमेरिकामा कोरोना सक्रमितको संख्या ८ लाख ९० हजार पुगेको छ । तर अमेरिकामा मृत्यु दर भने युरोपका देशका तुलनामा कम भएको त्यहाँको सरकारले बताएको छ ।अमेरिकाको जर्जिया, आलास्का, ओक्लाहोमालगायत केही राज्यमा शुक्रबारदेखि नै पसलहरु खोल्न थालिएको छ । कोरोना भाइरसको संक्रमण हुने र मृत्यु हुनेमा अमेरिका पहिलो नम्बरमा रहेको छ । यद्यपि यहाँका जनसंख्या पनि धेरै रहेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका कोभिड १९ टास्क फोर्सका विज्ञ डा. डेबोर ब्रिक्सका अनुसार अमेरिकामा कोभिड १९ को मृत्युदर विश्वका अरु देशको तुलनामा कम छ । जनसंख्याको आधारमा स्पेन, इटली, फ्रान्स, बेल्जियम र बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम रहेको उनको दावी छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको मृत्युदर प्रति एक लाखमा १५ जना मात्र रहेको छ । जबकी इटलीमा प्रति एक लाखमा ४२, स्पेनमा ४७, फ्रान्समा ३२, वेल्जियममा ५६ र बेलायतमा २८ जना रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्