झाँक्रीको प्रश्न : अध्यादेश फिर्ता हुँदैमा नैतिक प्रश्न सकिन्छ ?


 


काठमाडौं, बैशाख १३
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले नैतिकता अन्त कतै नभएको भन्दै प्रश्न गरेकी छिन्। झाँक्रीले ट्वीट गरेकी छिन् ‘राजनीतिमा नैतिकता हुन्छ भनेर शिक्षा दिने माधव नेपाल र अनाहकमा ग़लत अर्थ लगाएर राजीनामा दिन बाध्य पारिएका शेर बहादुर तामाङले नैतिकता आफूमा मात्र सिमित गर्नु भएछ’ उनले प्रश्न गरिन् ‘अन्त नैतिकता कतै देखिन्छ?’

झाँक्री अध्यादेशबारेमा सुरुदेखि नै विरोध गर्दै आइरहेकी छिन्। अध्यादेश जारी लगत्तै उनले ट्वीट गरेकी थिइन् ‘कमरेड, कानुनले पार्टी फूट्न र रोक्न दुबै सक्छ। जसको पार्टी बिभाजन गर्ने दुश्वप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो। किन की आज हामीलाई राजनीतिक एकता चाहिएको छ। बिभाजन होइन।’

‘मानवीय संकटको यो बेला एकाएक मन्त्रीपरिषदबाट बिबादास्पद अध्यादेश पास गर्नु शीतलनिवासबाट खाम साटेर हिड्नु, विपक्षी दलका सांसदलाई अपहरण शैलीमा होटलमा राख्नु, अनि बहुराष्ट्रको उदेश्य पुरागर्न मधेशबादी दलको एकता, के नेपाली राजनीतिका यि सामान्य घटना हुन? यि घटनाको पछाडी कसको हात छ? खोजौ।’ नेकपाभित्र अध्यादेश विवाद उग्र रुप लिइरहेको बेला झाँक्रीले अर्को ट्वीट गरेकी थिइन्।

सरकारले अध्यादेश खारेज गर्ने निर्णयलगत्तै उनले फेरि अर्को ट्वीट गरिन् ‘अध्यादेश फिर्ता भयो रे, के योसंगै सम्पूर्ण राजनितीक र नैतिक प्रश्न सकिन्छ? मलाई लाग्छ सकिदैन। अब के हुन्छ?’

सोमबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सिफारिस गरेलगत्तै राष्ट्रपतिले जारी गरेकी थिइन्। अध्यादेश जारीपछि सत्तारुढ नेकपाभित्र विवादले उग्र रुप लिएको थियो। नेकपाभित्र बहुमत सचिवालय सदस्यले अध्यादेश खारेज गर्नुपर्ने माग राखेका थिए। चौतर्फि विरोध र आलोचनापछि मन्त्रिपरिषदले फिर्ता लिएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश राष्ट्रपतिले शुक्रबार खारेज गरेकी थिइन्। अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्