बजेट अल्पकालीन र मध्यकालीन योजनाका साथ ल्याइने


 


काठमाडाैँ, बैशाख १२
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट अलपकालीन र मध्यकालीन योजनाका साथ ल्याउने भएको छ।

कोरोनाको असरलाई न्यूनीकरण गर्न उत्पादनका तथा आपूर्तिका शृङ्खलालाई कसरी जोड्ने र मानिसको जीवनलाई उकुसमुकुस हुनबाट सहजस्थितिमा कसरी लैजाने भन्ने योजना नै सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए।

लकडाउनका कारण आवागमन बन्द हुँदा निर्माण, उद्योग, व्यापार तथा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको वर्तमान चुनौतीपूर्ण अवस्थामा सरकारले अल्पकालीन र मध्यकालीन योजना बनाउने उनको भनाइ छ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन कठिन अवस्था छ। कोभिड–१९ को जोखिम रोक्न चालेका जीवन रक्षा सम्बन्धीको कदमले अर्थिक क्रियाकलापमा प्रतिकुल प्रभाव परिरहेको छ। एकातर्फ राजश्व सङ्कलनको स्थिति अपेक्षाकृत हुन सकेको छैन भने खर्च गर्ने क्षमतामा पनि अवरोध आएको छ। एकातर्फ स्रोत थपेर बजेट निर्माण गर्नुपर्ने अवस्था छ।

सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाले खुला छलफलका लागि विद्युतीय माध्यमको प्रयोग गर्नु परिरहेको र कर्मचारी सीमित रुपमा आउनुपरिरहेको तर पनि त्यसका बाबाजुद कर्मचारीले जोखिम मोलेरै बजेटको तयारी गरिरहेका मन्त्री डा खतिवडाको भनाइ थियो।

धेरै कम मुलुकको मात्रै आर्थिक वृद्धि दुई प्रतिशतमाथि हुने विश्वव्यापी अनुमान भइरहेको अवस्थामा लकडाउन लम्बिँदै गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव बढ्दै गए पनि आफ्ना कार्यक्रमलाई समायोजन गर्दै जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्