ट्रम्पद्वारा ग्रिनकार्ड स्थगितकाे घाेषणा


 


वासिङ्टन, बैशाख १२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई बसोबासका लागि दिइने नयाँ ग्रिनकार्ड स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका छन् । उक्त प्रक्रिया हाल दुई महिनाका लागि स्थगित गरिएको भए पनि अवधि बढाइन सकिने ट्रम्पले बताएका छन्। कोरोना भाइरस (कोभिड–१९) का कारण देशको अर्थतन्त्र प्रभावित भएकाले त्यस्तो आदेश जारी गर्नुपरेको उनको भनाइ छ।

ट्रम्पका अनुसार आदेश जारी भएसँगै अमेरिकी नागरिकको रोजगारीको अवसर संरक्षण हुनेछ। ‘अर्थतन्त्र पुन: सञ्चालनमा आएसँगै अब सबै पृष्ठभूमिका बेरोजगार अमेरिकीहरू कामका लागि अग्रपंक्तिमा हुनेछन्,’ राष्ट्रपति ट्रम्पले भने।

तर आलोचकहरूले विश्वव्यापी महामारीको कारण देखाएर ट्रम्पले अनुदारवादी आप्रवासन नीति ल्याएको बताएका छन्। उनीहरूले उक्त कदमलाई अमेरिकामा यसै वर्ष हुने राष्ट्रपतीय निर्वाचनसँग जोडेका छन्।

आप्रवासनसम्बन्धी अनुदार नीतिका कारण आगामी चुनावमा आफू निर्वाचित हुन सहयोग पुग्ने ट्रम्पको बुझाइ छ। उनले आफ्नो कार्यकालमा आप्रवासीलाई नियन्त्रण गर्ने कार्यलाई प्राथमिकता दिँदै आएका छन्।

नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा उनको प्रतिस्पर्धा डेमोक्र्याटिक पार्टीका जो बाइडनसँग हुने लगभग निश्चित छ। बाइडन उदार आप्रवासन नीतिको पक्षमा छन्। कतिपयले भने भाइरसको महामारी नियन्त्रण गर्न नसकेपछि अन्यत्र ध्यान मोड्न ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ आदेश ल्याएको बताउने गरेका छन्।

राष्ट्रपति ट्रम्पको नयाँ आदेशका कारण ग्रिनकार्ड वाहकहरूले परिवारका सदस्यलाई अमेरिकामा स्थायी बसोबासको व्यवस्था मिलाउन आर्थिक भार वहन गर्न अप्ठ्यारो हुने देखिएको छ। तर अमेरिकी नागरिकका श्रीमान्/श्रीमती वा २१ वर्ष नपुगेका अविवाहित छोराछोरीलाई भने यसले कुनै प्रभाव पार्ने छैन।

नयाँ आदेशसँगै तत्कालका लागि डाइभर्सिटी भिसा (डीभी) लटरीको प्रक्रिया पनि स्थगित भएको छ। डीभी कार्यक्रमबाट अमेरिकाले प्रत्येक वर्ष ५० हजार विदेशीलाई ग्रिनकार्ड दिँदै आएको थियो। तर हाल अमेरिकामै बस्दै आएका र ग्रिनकार्डका लागि आवेदन दिइसकेका विदेशी नागरिकलाई भने यो कदमले कुनै फरक पर्ने छैन्। त्यस्तै स्वास्थ्य तथा अन्य सीपमूलक कार्यका लागि अमेरिका जानेहरूका लागि पनि उक्त कदमले नरोक्ने बताइएको छ।

कोभिड–१९ महामारीका कारण अमेरिकाले भिसासम्बन्धी अधिकांश प्रक्रिया हाल बन्द गरिसकेको छ। यस्तो अवस्थामा ग्रिनकार्डका लागि पर्ने आवेदन रोकिने छन्। वासिङ्टनस्थित माइग्रेसन पोलिसी इन्स्टिट्युटका अनुसार अमेरिकी ग्रिनकार्डका लागि प्रत्येक साता करिब २० हजार जनाले आवेदन दिने गरेका थिए।

कोभिड १९ को कारण देखाउँदै अमेरिकाले गत महिनादेखि नै आप्रवासनलगायत लगभग सबै प्रकारका भिसा प्रक्रिया बन्द गरिसकेको छ। त्यसैगरी, चीन तथा बढी प्रभावित युरोपेली देशबाट विद्यार्थी, स्थायी कामदार र व्यवसायीबाहेकका लागि प्रवेश अनुमति रोक लगाइसकिएको छ। त्यसैगरी, अमेरिकाले क्यानडा र मेक्सिकोसँगका सीमा अत्यावश्यक सेवाका लागि बाहेक मे महिनाको मध्यसम्म बन्द राख्ने सहमति गरिसकेको छ। हालैका साताहरूमा आपत्कालीन अधिकारको उपयोग गर्दै अमेरिकाले मेक्सिको सीमा क्षेत्रबाट आएका हजारौं आप्रवासीलाई निष्कासन गरिसकेको छ।

गत वर्ष कानुनी रूपमा अमेरिकामा स्थायी बसोबास गर्ने अनुमति पाएका करिब १० लाखमध्ये अधिकांश मेक्सिको, चीन, भारत, डोमिनिकन रिपब्लिक, फिलिपिन्स र क्युबाका थिए। ४ लाख ५९ हजार जना त्यसै वर्ष अमेरिका प्रवेश गरेका थिए भने बाँकी केही वर्षदेखि विभिन्न हैसियतमा बस्दै आएका थिए। त्यसैगरी, कंगो, म्यान्मार, युक्रेन, इरिट्रिया, अफगानिस्तान र सिरियाबाट अमेरिका पुगेका ३० हजार शरणार्थीले पनि स्थायी बसोबास अनुमति पाएका थिए।

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित अमेरिकामा करिब ५० हजारले ज्यान गुमाइसकेका छन्। ८ लाख ६६ हजारभन्दा बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ। एजेन्सी

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्