अमेरिकामा कोरोनाले मृतकको संख्या ५० हजार आसपास, ८ लाख बढी संक्रमित


 


काठमाडौं, बैशाख १२
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ८० हजार नाघेको छ । २४ घण्टामा ३१ हजार ४ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या ८ लाख ८० हजार नाघेको हो ।

त्यस्तै, अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४५ पुगेको छ । बितेको २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३ सय २५ जनाले ज्यान गुमाएका छन् । तीव्र गतिमा संक्रमण र मृत्युदर फैलिरहेको त्यहाँ हालसम्म ८५ हजार संक्रमित निको हुँदा ७ लाख ४४ हजार संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १४ हजार ९ सयको अवस्था गम्भीर रहेको वर्ल्डोमीटरले जनाएको छ ।

अमेरिकामा सबैभन्दा बढी न्यूयोर्क राज्य कोरोनाबाट आक्रान्त छ । त्यहाँ संक्रमितको संख्या २ लाख ६८ हजार नाघ्दा २० हजार ८ सयले ज्यान गुमाइसकेका छन् । त्यस्तै, न्यू जर्सीमा १ लाख, म्यासाचुसेट्समा ४६ हजार, क्यालिफोर्नियामा ३९ हजार, पेन्सिलभेनियामा ३७ हजार, इलिेनाइसमा ३६ हजार, मिशिगनमा ३५ हजार, फ्लोरिडामा साढे २९ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वका २१० देश प्रभावित भइसकेका छन् । वर्ल्डोमीटरका अनुसार शुक्रबार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख १८ हजार नाघेको छ । जसमध्ये ७ लाख ४५ हजार ५ सय व्यक्ति उपचारपछि निको हुँदा १ लाख ९० हजार ६ सयले भने ज्यान गुमाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्