कोरोनाले विश्वभर १ लाख ८३ हजार बढीको मृत्यु, संक्रमितकाे संख्या २६ लाख नाघ्याे


 


काठमाडौं, बैशाख ११
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार बढीको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार २७ पुगेको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

अमेरिकाको न्युयोर्क शहरमा मात्र १५ हजार ७४ जनाको मृत्यु भएको छ । यो भारसका कारण अमेरिकाका ४६ हजार पाँच सय ८३ जनाको मृत्यु भएको छ भने ८ लाख ३९ हजार ६ सय ७५ जना संक्रमित भएका छन् । अमेरिकामा ७७ हजार ३ सय ६६ जना निको भएर घर गएका छन् ।

इटलीमा एक लाख ८७ हजार ३ सय २७ जना संक्रमित भएका छन् भने २५ हजार ८५ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन् र २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५७ हजार ३ सय संक्रमित छन् भने २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

बेलायतमा १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्