कोरोनाले २४ घण्टामा साढे ६ हजार बढीको मृत्यु, ८० हजार संक्रमित थपिए


 


काठमाडौं, बैशााख ११
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ८० हजार संक्रमित थपिँदा ६ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।
योसँगै विश्वभर संक्रमितको संख्या २६ लाख ३५ हजार नाघेको छ । जसमध्ये ७ लाख १७ हजार व्यक्ति निको हुँदा १ लाख ८४ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

वर्ल्डोमीटरका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय ४१ जनाले ज्यान गुमाउँदा २९ हजार ९ सय संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ८ लाख ४८ हजार नाघ्दा ४७ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकामा हालसम्म ८४ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा बेलायतमा ७६३, फ्रान्समा ५४४, इटालीमा ४३७, स्पेनमा ४३५, बेल्जियममा २६४, जर्मनीमा २२९, ब्राजिलमा १६५, स्वीडेनमा १७२, मेक्सिकोमा १४५, नेदरल्याण्ड्समा १३८, टर्कीमा ११७ जनाले ज्यान गुमाएका छन् ।

बुधबार दक्षिण एसियाको भारतमा ३६, पाकिस्तानमा ११, बंगलादेशमा १० र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा दक्षिण एसियाका बाँकी देशमा भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट हालसम्म विश्वका २१० देश प्रभावित भइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्