देशी–विदेशी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा: प्रचण्ड


 


काठमाडाैँ, बैशाख १०
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी–विदेशी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागेकाे बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१औं वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै दाहालले यस्तो बताएका हुन ।

उनले भने,’परन्तु, ऐतिहासिक पार्टी एकतापछि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन्।’

‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ’, दाहालले विज्ञप्तिमा भनेका छन् । उनले पार्टी एकताको महत्त्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका छन् । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो’, विज्ञप्तिमा उल्लेख छ ।

७१ वर्ष लामो राजनीतिक संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्यायलगायतका महत्वपूर्ण उपलब्धि हासिल भएका दाहालको भनाइ छ । ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ’, उनले भनेका छन् । साथै विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका नेता–कार्यकर्तालाई उनले आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्