काेराेना महामारी: चीनले तथ्यांकहरू लुकाएको अमेरिकाको आरोप


 


एजेन्सी, बैशाख ९
राष्ट्रपति ट्रम्पका सल्लाहकार पिटर नभारोले कोरोना भाइरस संक्रमणको प्रारम्भिक संक्रमण तथ्यांक चीनले लुकाएको हुनसक्ने आरोप लगाएका छन्। सोमबार उनले कोरोना भाइरसविरूद्धको भ्याक्सिनको व्यवसायिक लडाईं जित्न चीनले यस्तो गरिरहेको बताएका हुन्।

गत वर्षको अन्त्यदेखि चीनको वुहान शहरबाट सुरु भएको महामारीबाट यतिबेला अमेरिका संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो। उसले सुरुदेखि नै चीनसँग यस महामारीको प्रारम्भिक तथ्यांक माग गर्दै आइरहेको छ।

‘उनीहरू भाइरसविरुद्ध खोप बनाउने दौडमा रहेकाले हामीलाई भाइरसका प्रारम्भिक तथ्यांक दिन नखोजेको हुनुपर्छ। उनीहरूले यसलाई एउटा प्रतिष्पर्धात्मक व्यापार युद्ध ठानेको हुनुपर्छ। यो व्यापार प्रस्ताव हो जसका कारण उनीहरू विश्वलाई भ्याक्सिन बेच्न सक्नेछन्’, उनले भने।

‘तर हामी उनीहरूलाई हराउँनेछौं। राष्ट्रपति ट्रम्पको नेतृत्वले गर्दा हामी उनीहरूलाई हराउँनेछौं। हामी उनीहरूलाई हराउँछौ किनकी स्वास्थ्य र स्वस्थ्य सेवाले पाँच कम्पनीलाई यसमा लगाइसकेको छ’, उनले दाबी गर्दै भने।

चीनका कटु आलोचक नभारोलाई राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीसँग सम्बन्धित आपूर्तिमा काम गर्ने जिम्मेवारी दिएका छन्। हालसम्म कोरोनाको कुनै निश्चित उपचार र भ्याक्सिन उपलब्ध छैन। त्यसैले संसारभरका वैज्ञानिक सबैभन्दा पहिलो यसको भ्याक्सिन बनाउने दौडमा रहेका छन्। यसमा शक्ति राष्ट्रहरूबीच चर्को प्रतिष्पर्धा चलिरहेको छ। यध्यपी हालसम्म कसैले सफलता प्राप्त गर्न सकिरहेका छैनन्।

प्रकाशित मिति: ९ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्